ad ad

अन्तर्वार्ता


सीके राउतसँग संवादः आम आदमी पार्टीको हुबहु नक्कल आत्मघाती हुन्छ, हाम्रो आफ्नै मोडल छ

सीके राउतसँग संवादः आम आदमी पार्टीको हुबहु नक्कल आत्मघाती हुन्छ, हाम्रो आफ्नै मोडल छ

शैलेन्द्र महतो
चैत ६, २०७८ आइतबार १६:४३, काठमाडौँ

पछिल्लो समय डा. सीके राउत नेतृत्वको जनमत पार्टी मधेसमा भ्रष्टाचारविरुद्ध र किसान आन्दोलनमा सक्रिय छ। पृथकतावादी मुद्दा त्याग्दै मूलधारको राजनीतिमा आएर जनमत पार्टी खोलेपछि डा. सीके राउत केही समय माैन बसे। चुनावको मुखमा आएर उनको दल जनमत पार्टी तराई–मधेसका जिल्लामा जोडतोडले आन्दोलनमा लागेको छ। साथै वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको तयारीमा पनि जुटेको छ। मधेसमा उनको दल मधेसवादीमध्ये तेस्रोमा गनिन्छ। प्रस्तुत छ, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग नेपालखबरले गरेको संवाद : 

अचेल केमा व्यस्त हुनुहुन्छ, के गर्दै छ तपाईको जनमत पार्टी?
अहिले निर्वाचनको तयारी चलिरहेको छ। साथै जनमत माटो यात्रा पनि जारी छ। 

सिजनअनुसार तपाईंका मुद्दा र आन्दोलन परिवर्तन भइरहन्छन्, पहिले भ्रष्टाचारविरुद्ध जनकारबाही चलाउनुभो, अहिले किसान आन्दोलनमा सक्रिय हुनुहुन्छ, भ्रष्टाचार निवारण भएपछि यता लाग्नुभएको हो? 

सबै आन्दोलन जारी छ। भ्रष्टाचारविरुद्धको आन्दोलन पनि जारी छ। दुई महिना आन्दोलन गरेर भ्रष्टाचार समाप्त भइहाल्छ भन्ने छैन। अहिले यो परिस्थिति छैन कि एउटा भ्रष्टाचारको मुद्दा लिएर जिन्दगीभर त्यसैमा लागिरहनुपर्छ। अन्य पनि मुद्दा छन्। अन्य मुद्दा आइरहन्छन्। उठाउनुपर्छ। भ्रष्टाचाररिुद्धको आन्दोलन पनि जारी छ। साथै जनता जे माग राख्छन्, हाम्रो पार्टीले उठाइदिनुपर्छ भनेपछि त्यसलाई जिम्मेवारी बोध गरेर आन्दोलन उठाउँदै आएका हौं।​

निर्वाचनको मुखमा चुनावी स्टन्टका लागि आन्दोलन गर्दै हुनुहुन्छ भन्ने आरोप छ नि? 
हामीले भ्रष्टाचारविरुद्धको आन्दोलन उठाएको दुई वर्ष भइसक्यो। त्यतिबेला चुनावको कुरा पनि थिएन। जति बेलै किसान आन्दोलन पनि उठ्यो। चुनावको घोषणा पनि भएको थिएन। यी सबै विरोधी पार्टीद्वारा लगाइएका आरोप मात्र हुन्। 

पहिला पृथकतावादी मुद्दा उठाउनुभयो, अहिले मूलधारको राजनीतिमा आउनुभएको छ, पहिले शान्तिपूर्ण आन्दोलन गर्नुहुन्थ्यो, अहिले हिंस्रक आन्दोलन गरेको पनि देखिन्छ? भोलि फेरि परिवर्तन हुनुहुन्न भनेर जनताले पत्याउने आधार के?
परिवर्तन हुनु खराब कुरा होइन नि! परिवर्तन हुनु त प्रकृतिको स्वाभाविक प्रक्रिया नै हो। आवश्यक्ताअनुसार परिवर्तन हुनुलाई गतिशिलता भनिन्छ। यसमा एकदम स्पष्ट रहनुपर्छ। पानी पर्न थाल्यो त्यहाँ म भन्छु छाता निकाल्दिनँ, त्यो कुरा हुँदैन। पानी पर्यो भने छाता निकाल्नैपर्छ। यसलाई स्वाभाविक परिवर्तन मान्नुपर्छ। राजनीतिका क्रममा विभिन्न एजेन्डा उठाउने जनताको डिमान्ड आउँछ। त्यसैअनुसार परिस्थितिको निर्माण हुन्छ। पार्टीले माग सम्बोधन गर्ने हिसाबले अगाडि बढ्नुपर्छ। 

अहिले तपाईंको पार्टीको आन्दोलनबाट के के उपलब्धि र परिवर्तन भए त? 
उपलब्धि राम्रै भइरहेको छ। उपलब्धि मात्र कागजमै देखाएर, कागजमै सम्झौता भएपछि हुन्छ भन्ने जरुरी छैन। भ्रष्टाचारविरुद्ध जुन आन्दोलन भयो, जनकपुरका जनतालाई सोध्नुस्– काम कति चाँडचाँडै हुन थाले सरकारी कार्यालयमा? यो सबभन्दा ठूलो उपलब्धि रह्यो। चाँडचाँडै रोड बन्न थाल्यो, बाटोघाटो मर्मत हुन थाल्यो, सरकारी वकिलमा काम हुन थाल्यो।

किसान आन्दोलनको उपलब्धि हेर्नुस्। अहिले नै विभिन्न पालिकामा कृषि बिजुली फ्रि गरिँदै छ। नेपाल सरकारले सम्झौता गर्यो भर्खर, कमै मलखादका लागि भए पनि जीटुजी एग्रिमेन्ट भयो। विभिन्न माग सम्बोधन हुने क्रममा छन्।  

एमाले र लोसपाप्रति नरम सत्तासीन दल कांग्रेस, माओवादी केन्द्र, जसपालगायतप्रति गरम हुनुहुन्छ, किन? 
हेर्नुस्, सबैभन्दा पहिले हामीहरू जनताको साथमा छौं। र जनताको कर्तव्य के रहन्छ भने प्रतिपक्षी दल रहन्छ र जुन जनताको साथमा कुनै दल रहँदैन भने जो सरकारमा रहन्छ उसको विरोध गर्नुपर्छ। यसकारण कि सरकारमै रहने व्यक्ति समाधानको जिम्मेरवार रहन्छन्। अहिले सरकार कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको छ। तपाईं देख्न सक्नुहुन्छ, किसान आन्दोलनमा दमन गर्ने को, गोली चलाउने को, किसानलाई पक्राउने को? यिनै सत्ताधारी दल होइनन्? त्यसकारण तिनको विरोध स्वाभाविक हो। म स्मरण गराउन चाहन्छु, जनमत पार्टीले नागरिकता विधेयकको विरोधमा आन्दोलन गरेको थियो। त्यसबेला केपी ओलीको सरकार थियो। सरकारविरुद्ध देशभर आन्दोलन गरिएको थियो। ठाउँठाउँमा ओलीको पुत्ला जलाइयो। जसको दबाबमा सरकार नागरिकता विधेयक फिर्ता लिन बाध्य भएको थियो। जसको सकार रहन्छ, त्यसको विरोध हुनु स्वाभाविक हो। यसलाई अन्यथा लिनु हुँदैन।

अगामी स्थानीय चुनावका लागि तपाईंको पार्टीले के कस्तो तयारी गरिरहेको छ? 
राम्रो तयारी छ। मधेसका अधिकांश स्थानीय तहमा हामी उम्मेदवारीका लागि तयार छौं। सशक्त उम्मेदवार अहिले पनि खोजिरहेका छौं। पाँच वर्षको कुरा छ, त्यसबेला हामी सुशासन कायम गर्न सकौं, जनताको सेवा गर्न सकौं, त्यस किसिमको उम्मेदवारको तलासमा हामी छौं। 

जनमत पार्टी एक्लै चुनाव लड्छ कि गठबन्धन बनाएर? गठबन्धन गर्दा कुन दलसँग गर्ला? 
गठबन्धन बनाएर हामी अघि बढ्छौं कि बढ्दैनौं, यो विषयमा कुनै चर्चा परिचर्चा गरेका छैनौं। न कुनै निर्णय गरेका छौं। त्यसकारण यस विषयमा कुनै कुरा आएको छैन। 

जनमत पार्टीले एमालेसँग गठबन्धन बनाएर चुनाव लड्छ भन्ने चर्चा छ नि?
विरोधी शक्तिहरू असुरक्षाको भावनाले अनेक भ्रम फिँजाउने गर्छन्। हाम्रो पार्टीभित्र कतै कुनै निर्णय भएको छैन। कतै चर्चा/परिचर्चा पनि छैन। 

निर्वाचन नजिकिँदै छ, कति जना उम्मेदवार टुंगो लगाउनुभयो त?  
चैत ३० गतेसम्म उम्मेदवारको सिफारिस आउने मिति तोकिसकेका छौं। अब केन्द्रीय समितिको बैठक राखेर निर्णय गर्छौं।

तपाईंको दल चुनाव लड्यो भने देशभरमा कतिवटा स्थानीय तहमा जित्ला?
निर्वाचनअघि नै आकलन गर्नु उचित हुँदैन भन्ने मलाई लाग्छ। तर, हामी कोसिस गर्छौं अधिकांश स्थानीय तहमा, खासगरी मधेसका जिल्ला, पालिकामा राम्रो तरिकाले विजय हासिल गरौं भन्ने हिसाबले अगाडि बढिरहेका छौं। 

भारतको आम आदमी पार्टीकै मोडलमा तपाईंको पार्टी अगाडि बढ्न खोजेको हो कि? 
आम आदमी पार्टीका लागि जनता त्यति नै सजग हुन जरुरी छ, जे कुरा हाम्रो यता छैन। त्यसकारण हुबहु नक्कल आत्मघाती हुन्छ। किनभने त्यस हिसाबको पार्टीले मात्र हुँदैन, जनता पनि त्यस्तै इमान्दार छविको हुनुपर्छ। कि आफ्नो मतको महत्त्व बुझ्नसक्ने हुनुपर्छ। त्यसकारण हुबहु नक्कल त गर्न सकिँदैन। हो, एजेन्डाबाइज जस्तो कि भ्रष्टाचार न्यूनीकणको कुरा भयो, जनतामा सेवा पुर्याउने कुरा भयो, यस्ता मुद्दामा त समानता देख्न सकिन्छ। तर हामीहरूको आफ्नै मोडल रहन्छ। त्यही हिसाबले अगाडि बढ्छौं।

तपाईंहरूसँग सरकार चलाएको अनुभव त छैन, ​चुनावमा कसरी भोट माग्नु हुन्छ मतदातासँग?
जनतालाई भन्न चाहन्छु– पाँच वर्षको अगाडिको समयका लागि निर्णय गर्ने अवसर आउँदै छ। यसपालि कमसेकम चुक्नु भएन। सबै पार्टीलाई पटकपटक जिताएर हेरिसक्नुभयो। कसैलाई ७० वर्ष, कतिलाई ३० वर्ष, कुनैलाई १५ वर्ष। तर उनीहरूले कुनै काम गर्न सकेनन्। तिनीहरू म्याद गुज्रेको औषधिजस्तै हुन्। त्यसकारण यसपटक जनमत पार्टीलाई मौका दिनुस्। जनमत  पार्टीलाई जिताएर जनताको राज सबै ठाउँमा ल्याउनुपर्छ भन्ने मेरो आग्रह छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .