ad ad

अन्तर्वार्ता


कार्यवाहक अध्यक्ष र प्रधानमन्त्री बनाएर ओलीले आराम गर्नुपर्छः गजुरेल

कार्यवाहक अध्यक्ष र प्रधानमन्त्री बनाएर ओलीले आराम गर्नुपर्छः गजुरेल

सागर न्यौपाने
मंसिर ३, २०७६ मंगलबार ११:२६,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्रीले मन्त्रीमण्डल पुनर्गठनको अनावश्यक हल्ला गरेर मन्त्रीहरुलाई समस्यामा पारेको बताएका छन्। मन्त्रीको काम चित्त नबुझे फेरबदल गर्नसक्ने प्रधानमन्त्रीलाई अधिकार भएपनि लामो समयदेखि फेरबदलको हल्ला गरेर समस्या पैदा गरेको उनले बताए।

‘कार्यसम्पादन चित्त नबुझेको हो भने सम्बन्धित मन्त्रीलाई फिर्ता गरेर नयाँलाई अवसर दिँदा केही फरक पर्दैनथ्यो। तर, मिडियाबाट मन्त्रीकै बदनाम गराउन प्रधानमन्त्री लाग्नु दुखद छ,’ गजुरेलले नेपालखबरसँग भने, ‘अनावश्यक हल्ला गरेपछि मन्त्रीले पछि जनताको बीचमा गएर कसरी काम गर्न सक्छन्?’

प्रधानमन्त्रीको मूल्यांकन कसले गर्ने त? उनले अर्को प्रश्न गरे।

मन्त्रीमण्डल पुर्गठनसँगै नेकपाका दुई जना अध्यक्षबीच कार्यविभाजनको विषयसमेत उठिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट नेता गजुरेलले अध्यक्ष केपी शर्मा ओलीले कार्यवाहक अध्यक्ष र प्रधानमन्त्री तोकेर अब आफुले आराम गर्नुपर्ने बताए।

गजुरेलसँग गरिएको संक्षिप्त वार्ताः

मन्त्रीमण्डल पुनर्गठनको हल्ला त धेरै चल्यो तर, फेरबदलमा ढिलाई चाहिँ किन?
मन्त्रीमण्डल पुनर्गठन बाहिर हल्ला नभइकन हुनुपथ्र्यो। पुनर्गठन गर्ने हल्ला भएपछि मन्त्रालयका कामहरु प्रभावित हुन्छन्, मन्त्रीहरुको मनोबल कमजोर हुन्छ। दोस्रो, मन्त्रीहरुको मूल्यांकनको कुरा पनि बाहिर आउन हुन्नथ्यो। बाहिर आउने कुराले त्यो मान्छे फेरि मन्त्री हुनुपर्ला, जनतामा जानुपर्ला, असफल भएको भन्दा त समस्या आउँछ नि। ती त नेता नै हुन्। पार्टीका विभिन्न तह र जिम्मेवारीमा होलान। मूल्यांकन भएपनि बाहिर आउनु हुन्नथ्यो। व्यक्तित्वमा पनि असर पर्छ। हल्ला नगरीकन प्रधानमन्त्रीले गृहकार्य गरेर गर्नुपर्थ्यो, प्रधानमन्त्रीको त विशेष अधिकार हो नि त यो। असफल हुँदा प्रधानमन्त्रीसहितको टीम असफल हुने हो। जिम्मा दिइसकेपछि यसलाई मन्त्री बनाऊ, यसलाई नबनाऊ भन्नु भन्दा पनि सहज टीम बनाएर काम अघि बढाउनुपर्ने हो। यो राख, ऊ राख भनेर जानु हुँदैन। उपयुक्त क्षमतावान मान्छेहरु राखेर काम गर्नुपर्ने हो। त्यसो गर्दा सिंगो काम गरेर जस प्रधानमन्त्रीसहितको टीमले पाउँछ। तर, अहिले त मन्त्रीलाई मात्र दोष दिएको देखियो। प्रधानमन्त्रीको मूल्यांकन कसले गर्ने त? प्रधानमन्त्रीको मूल्यांकन गर्ने निकाय कि हुनुपर्यो, त्यो त छैन। त्यसकारणले यस्ता विषयमा अलिकति समीक्षा गरेर नयाँ विधिको विकास गर्नुपर्ने देखिन्छ।

मन्त्रीमण्डल पुनर्गठनमा ढिलाई चाहिँ किन भएको हो?
अहिले मात्रै होइन मन्त्रीमण्डल पुनर्गठनको कुरा धेरै अगाडिदेखि आयो। हाम्रो शैली पुरानै छ। त्यहाँ नयाँ विधि बनाएर जानुपर्ने देखिन्छ। पार्टी, सरकार हामीले पुरानै तरिकाले चलाइरहेका छौं, त्यो कुरा जनतालाई चित्त बुझेको छैन। पुरानै अभ्यास निरन्तर देखियो, चाहे मन्त्रीमण्डल बनाउँदा होस् वा पुनर्गठनको तयारी गर्दा। कामको प्रगति हेरेर भन्दा पनि गुट व्यवस्थापन गर्ने भन्नेतिरबाट जाँदा समस्या भएको हो। गुटको व्यवस्थापन गर्दा बडो समस्या हुन्छ, आफ्ना गुटका मान्छे राख्नुपर्यो।

त्यसो भए अहिले भएको ढिलाई पनि त्यसै कारण हो?
गुटको व्यवस्थापनले नै हो। अरु कारण नै केही छैन।

दुई अध्यक्षबीच पार्टी नेतृत्वको कार्यविभाजनमा सहमति नमिल्दा ढिलाई भएको भन्ने कुरा पनि आएको छ नि?
अर्को कारण त्यो पनि हो। कार्यविभाजनको कुरा पनि ठोस हुनुपर्यो नि त। अब त्यो समस्या हल हुँदै जाला, किनकी प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गर्नुपर्ने छ। त्यसो हुँदा उहाँले केही समय आराम लिनुपर्छ। अहिले त हल भइहालेको जस्तो देखिन्छ तर पनि दीर्घकालिन हिसाबले कसरी हल गर्ने भन्ने टुंगो लगाउनुपर्छ। किनभने दुईजना अध्यक्ष भएपछि एउटाले पार्टी चलाउने अर्कोले सरकार चलाउने भन्ने नै हुन्छ मुख्यरुपमा। हुनत दुईवटै हुन्छ तर आलोपालो बैठकको अध्यक्षता गर्ने सञ्चालन गर्ने पनि हुनुपर्यो। अहिले केपी शर्मा ओलीले नै गरिरहनुभएको छ। प्रचण्डले त ओली नभएको बेला जम्मा एकचोटी अध्यक्षता गरेको हो।

अब प्रधानमन्त्री ओलीले तत्काल कार्यवाहक प्रधानमन्त्री, कार्यवाहक अध्यक्ष बनाउनुपर्यो तर, दीर्घकालिन समस्या हल गर्न भने अधिकार बाँडफाँट गर्नुपर्छ।

कार्यवाहक प्रधानमन्त्री र कार्यवाहक अध्यक्ष बनाएर उपचारमा जाने संभावना देखिन्छ र?
अब अप्रेशन गरेपछि त आराम गर्नुपर्छ, कार्यवाहक नबनाई कसरी संभव हुन्छ? अहिलेको विशिष्ट अवस्थामा सन्तुलन पनि मिलाउनुपर्यो नि। अब दुईजना अध्यक्ष पनि किन चाहियो र? एउटै अध्यक्ष बनाइदिए सकियो त। अब एउटै अध्यक्ष बनाइदिउँ, यताउती नगरौं। हरेक निर्णय गर्दा पूर्वमाओवादी, पूर्वएमाले भन्ने भइहाल्छ। त्यही भएर दुईवटा अध्यक्ष भएको होला। विश्वासको वातावरण पूरै बनेको भए दुईवटा अध्यक्ष हुने थिएन। हिजोका तिक्तता, नमिठा घटनाहरुले यस्तो भएको हो।

मन्त्रीमण्डल पुनर्गठन कति दिनमा होला?
के भन्न सकिन्छ र पहिला पनि हुन्छ भनियो भएन। अब नहुने भन्न पनि सक्छन्। हाम्रो दुर्इ वटा अध्यक्ष कसरी जानुहुन्छ, भन्नै सक्दिनँ। भोलि गएर ए नगर्ने नचलाउने, अहिले जे छ त्यहि होस् भन्न पनि सक्नुहुन्छ। होइन पुनर्गठन गरौं भन्न पनि सक्नुहुन्छ। अथवा केही सिमित मन्त्रीहरुलाई फेरबदल गरौं भन्न पनि सक्नुहुन्छ। त्यसैले, अहिले केही भन्न सकिंदैन।

नयाँ मन्त्री बन्ने सूचीमा तपाईंको पनि नाम छ भनिएको छ, चलखेल नगरी त कसरी नाम पर्यो होला र?
म मन्त्री बन्न कहीँ धाएको छैन। अहिलेसम्म कसैलाई भेटेर पहल गरेको छैन। योग्यता क्षमता पुग्छ, त्यो ठाउँमा उपयुक्त हुन्छु, राम्रो गर्छु भन्ने नेतृत्वलाई विश्वास लाग्यो भने जिम्मेवारी लिन्न भन्दिनँ। किनभने सांसद भएपछि मन्त्री बन्दिनँ भन्ने हुँदैन। मन्त्रीमण्डलका विषयमा मैले अध्यक्षसँग कुरा गर्दिनँ, किनकी कुरा भएपछि आकांक्षा राख्यो भन्छन्, चासो राख्यो भन्छन्। केपी शर्मा ओलीसँग नौ महिना काम गरें, प्रचण्डसँग २०४१र०४२ सालदेखि सम्बन्ध छ। भनेपछि हामीले मन्त्री बनाउ भनेर धाउनु भन्दापनि आवश्यकताले निर्धारण गर्ने कुरा हो। काम जसले प्रभावकारी गर्छन्, त्यसलाई छनौट गर्नुपर्छ भन्ने मेरो भनाई हो। जनतालाई काम चाहिएको हो, अनुहार होइन।

त्यसो भए मन्त्रीमण्डलमा नयाँ व्यक्ति छनौट गर्दा के मापदण्ड बनाउनुपर्छ?
मापदण्ड त बनाउनैपर्यो नि। मुख्य काम हेर्नुपर्यो। नयाँ पनि हुन सक्नेभयो, पुरानो पनि हुनेभयो। महिला, जनजाती, मधेसी हुनसक्ने भयो। छनौट गर्दा काम हेर्नुपर्यो। त्यो भयो भने जनताको काम हुन्छ, अनि सरकार सफल हुन्छ। पार्टीपनि राम्रो हुन्छ। गुटको व्यवस्थापन गर्नलाई, पालो पुर्याउनलाई मन्त्री बनाएर हुँदैन। मुख्य समस्या यहीँ छ। सांसद भएपछि एकचोटी मन्त्री हुनैपर्ने पालो पुर्याउनै पर्ने कुरा राम्रो होइन। जसले कार्यसम्पन्न राम्रो गर्नसक्छ त्यसलाई दिनुपर्यो।

पछिल्लो दिन ओली–प्रचण्डबीच निरन्तर भेटघाट भइरहेको छ। निष्कर्ष निस्केको छैन, किन होला?
केही जटिलताहरु छन्। हिजोको पूर्व एमाले र माओवादीभित्र पनि गुटहरु छन्। गुटको व्यवस्थापनको कुरा आउँछ। हिजोको तिक्तता छ। पार्टी फुटपछि फेरि एकता भएपनि आशंकाहरु छन्। तर, खुशीको कुरा के भने उहाँहरुबीच खुलेर कुरा हुँदा राम्रो भएको छ। निर्णयमा सहमति हुन ढिलाई भएपनि वा नभएपनि कुरा दैनिक हुँदा दुरी बढेर अर्को ठाउँमा पुगिएको छैन। पार्टीमा विश्वासको वातावरण बन्न त अलि समय लाग्छ नै।

प्रधानमन्त्री ओली र आफूबीचको सम्बन्धबारेमा अर्का अध्यक्ष प्रचण्डको अनुभूति कस्तो छ?
अध्यक्ष प्रचण्डको एउटा कार्यशैली छ, प्रधानमन्त्री तथा ओलीको अर्को कार्यशैली छ। स्वभावगत भिन्नता त हुने नै भए। जति नेता ठूलो भयो उति जटिल हुन्छ भनिन्छ। दुईवटा अध्यक्ष भन्ने कुरा पनि जटिल हो। दुईवटा अध्यक्ष सामान्य होइन, स्वतः जटिलता हो।

तर, प्रचण्ड–ओलीबीच सरकार र पार्टी आलोपालो सञ्चालन गर्ने सहमति कार्यान्वयन र मन्त्रीमण्डल पुनर्गठनका कुराहरु आउँदा आपसी असमझदारी झन् बढेको देखियो, होइन?
आधाआधा समय नेतृत्व गर्ने सहमती कार्यान्वयनको समय त आउन बाँकी नै छ। त्यसबारेमा पछि छलफल होला। तर, अध्यक्ष प्रचण्डले ‘पार्टीमा ठीकसँग कार्यविभाजन भयो भने म प्रधानमन्त्रीको आकांक्षी होइन, पार्टी ठीक ढंगले चल्नुपर्यो, सरकारबाट प्रभावकारी काम हुनुपर्यो’ भनेर भन्नुभएको छ। त्यसमा समस्या नहोला।

त्यसो भए अहिलेको समस्या गुटगत राजनीतिले सिर्जना गरेको हो?
समीकरण बनाउनु हुन्न, गुटहरु पनि हुनुहुन्न। समीकरण र गुट भयो भने पार्टी खतरामा पर्छ। एउटा समीकरण बनाउने अनि एकले अर्कोलाई कमजोर पार्नेगरी चलखेल गर्ने संकेतले तिक्तता बढाउँछ। गुटहरुले समस्या पारेको ठाउँमा समीकरण बन्यो भने त्यसले अमैत्रीपूर्ण बनाउँछ। त्योसँग मिलेर आफूलाई सिध्याउन खोजेको, कमजोर पार्न खोजेको अर्को पक्षले महसुस गर्छ। तर, समीकरण नै हुनेगरी कहिलेकाहीँ अघि बढ्न खाजेको जस्तो देखिन्छ। त्यो दुखदायी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .