मेघालयमा हनिमुन मनाउने क्रममा इन्दौरका यातायात व्यवसायी राजा रघुवंशी मारिएको घटनामा एकपछि अर्को खुलासा भइरहेका छन्।
यसै क्रममा शिलोङ प्रहरीले विवाहअघि सोनमले धेरैपटक फोनमा कुराकानी गरेका सञ्जय वर्मा नामका व्यक्ति पनि उनकै प्रेमी राज कुशवाहा भएको पत्ता लगाएको छ। यसअघि उनलाई राजा हत्याकाण्डमा नयाँ व्यक्तिको प्रवेश मानिएको थियो।
शिलोङ प्रहरीको अनुसन्धानअनुसार सोनमले विवाह हुनुभन्दा तीन महिना अगाडिसम्म सञ्जय वर्मा नामका व्यक्तिसँग मार्च १ देखि मार्च २५ सम्म ११२ पटकभन्दा बढी कुरा गरेको पाइएको हो।
प्रहरीले त्यो नम्बर ट्र्याक गर्दा फोन प्रयोग गर्ने व्यक्ति सञ्जय नभई सोनमका प्रेमी राज कुशवाहा नै रहेको पत्ता लगाएको हो।
आजतकका अनुसार अब प्रहरीले यो नम्बर कसको आधार कार्डमा लिइएको थियो भनेर अनुसन्धान गरिरहेको छ। शिलोङका प्रहरी अधीक्षक विवेक सिमले राजाको हत्या अचानक भएको नभई कम्तीमा तीन असफल प्रयासपछि गरिएको बताएका छन्।
पहिले हत्याको योजना गुवाहाटीमा, त्यसपछि नोङ्ग्रियाट नजिक र पछि भेसाडोङ फल्सनजिकै बनाइएको थियो। तर कुनै न कुनै कारण ती योजना असफल भए। अन्ततः मे २३ मा मेघालयको सोहरामा राजका साथीहरू विशाल, आकाश र आनन्दले सोनमसँगै राजाको हत्या गरे।
राजा रघुवंशी हत्या प्रकरणको अनुसन्धानमा सोनम रघुवंशीको अर्को चलाखी खुलासा भएको छ।
मेघालय प्रहरीको दाबीअनुसार सोनमले अर्की महिलाको हत्या गर्ने र उनको शवलाई आफ्नै बनाएर सधैँभरि गायब हुने षड्यन्त्र रचेकी थिइन्।तर उनी यसमा सफल हुन सकिनन्।
राजाको हत्यापछि सोनमले प्रहरीलाई छक्याउन बुर्का लगाएर शिलोङबाट फरार भएकी थिइन्। उनी शिलोङबाट आसाम गइन्, अनि त्यहाँबाट पश्चिम बंगाल, बिहार र उत्तर प्रदेशका धेरै सहर हुँदै अन्ततः इन्दौर फर्किइन्। जहाँ प्रेमी राजले फ्ल्याट भाडामा लिएका थिए। उनी त्यस फ्ल्याटमा १४ दिन बसिन् र यसपछि गाजिपुर पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गरिन्।
शिलोङ प्रहरीले अहिले सोनम बसेको इन्दौरस्थित भाडाको फ्ल्याटमा खानतलासी गरिरहेको छ। जहाँ प्रहरीले राजाको हत्यापछि सोनमले आफूसँगै ल्याएको कालो झोला खोजिरहेको छ। झोलामा हत्यासँग सम्बन्धित केही महत्त्वपूर्ण प्रमाण हुन सक्ने आशंका प्रहरीको छ।
Shares

प्रतिक्रिया