पाकिस्तानले इरान र अमेरिकाबिच फेरि अर्को चरणको वार्ता चाँडै सुरु हुन सक्ने दाबी गरेको छ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले जारी युद्धविराम र सकारात्मक अवस्थालाई ध्यान दिँदै इरान र अमेरिकाबिच फेरि वार्ता हुने अपेक्षा गरिएको बताएका हुन्।
बीबीसी फारसीका अनुसार सोमबार इस्लामावादस्थित संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै आसिफले भने, ‘हालैको वार्तापछि सन्तोषजनक वातावरण छ र अहिलेसम्म कुनै नकारात्मक अवस्था देखिएको छैन।’
उनले अगाडि भने, ‘सामान्य अवस्था देखिएको छ र यसलाई कूटनीतिक प्रयास सही दिशामा अघि बढिरहेको संकेत मान्नुपर्छ।’
यसअघि पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले दुई पक्षबिच युद्धविरामले प्रगतिको आशा जगाएको बताएका थिए।
उल्लेखनीय छ- गत शनिबार पाकिस्तानको राजधानी इस्लामावादमा इरान र अमेरिकाबिच २१ घण्टा भएको वार्ता निष्कर्षविहीन भएको थियो।
Shares

प्रतिक्रिया