विश्वचर्चित एपस्टिन यौन प्रकरणको अनुसन्धानमा तानिएपछि बेलायतका राजा चार्ल्सका भाइ एन्ड्रयु माउन्टबेटन-विन्डसरलाई त्यहाँको सरकारले कहिले राजा बन्न नपाउने गरी कानुन ल्याउने विचार गरिरहेको छ।
गत अक्टोबरमा ‘राजकुमार’सहित उनका सबै उपाधि खोसिए पनि उनी उत्तराधिकारीको लाइनमा भने आठौँ नम्बरमा अझै छन्।
अब त्यस सूचीबाट पनि उनलाई हटाउने तयारी बेलायत सरकारले गरेको बीबीसीले उल्लेख गरेको छ।
यो कदमपछि एन्ड्रयु कहिल्यै राजा बन्न पाउने छैनन्।
बेलायतका रक्षामन्त्री ल्युक पोलार्डले बीबीसी रेडिओसँग भनेका छन्, 'प्रहरी अनुसन्धानको नितजा जेजस्तो आए पनि यो कदम सही काम हुनेछ।'
उनले थपे, 'यो यस्तो विषय हो, जसमा मलाई आशा छ- यसमा सबै पक्षको समर्थन हुनेछ, तर त्यो प्रहरी अनुसन्धान पूरा भएपछि मात्र हुनुपर्छ।'
बेलायतकी महारानी एलिजावेथ द्वितियाका चार सन्तान छन्। जेठो छोरा चार्ल्स त्रितिय अहिले राजा छन्। छोरी एन राजकुमारी हुन्। एन्ड्रयु तेस्रो सन्तान हुन्। उनका पनि एकजना भाइ छन्।
एन्ड्रयु माउन्टबेटनले यौन अपराध मुद्दा लागेका अमेरिकी नागरिक जेफ्री एपस्टिनसँग मिलेर किशोरीको यौन शोषण गरेको आरोप लागेको छ।
सोही प्रकरणमा प्रहरीले गत बिहीबार साँझ एन्ड्रयुलाई पक्राउ पनि गरेको थियो। तर अनुसन्धान जारी नै राख्ने गरी उनलाई ११ घण्टापछि प्रहरीले रिहा गरेको थियो।
एन्ड्रयु माउन्टबेटनले भने आफूले कुनै गलत काम नगरेको दाबी गरेका छन्।
तर अमेरिकी सरकारले जारी गरेको एपस्टिनसँग सम्बन्धित फाइलमा उनी किशोरीसँग शंकास्पद अवस्थामा देखिएका छन्।
केही तस्बिर


अमेरिकी सरकारले हालै जारी गरेको कागजातमा एपस्टिन र एन्ड्रयुबिचको कुराकानी छ।
एपस्टिन मुद्दाकी पीडित भर्जिनिया गिफ्रेले आफू १७ वर्षको छँदा सन् २००१ एन्ड्रयुले यौन शोषण गरेको आरोप लगाएकी छन्।
दोषी ठहरिएमा ६६ वर्षीय एन्ड्रयुलाई आजीवन कारावास हुन सक्छ।
आरोप लगाउने गिफ्रेको भने २०२५ अप्रिलमा मृत्यु भइसकेको छ। जसलाई आत्महत्या भनिएको छ।
एपस्टिन यौन प्रकरणले विश्वमै हलचल ल्याएको छ।
यही कारण १० देशमा विभिन्न पदका व्यक्तिले राजीनामा दिनुपरेको छ भने ८० शक्तिशाली व्यक्तिविरुद्ध अनुसन्धान भइरहेको छ।
Shares

प्रतिक्रिया