ग्लोबल


पाकिस्तानका गृहमन्त्रीले भने: इस्लामाबाद आक्रमणको ‘मास्टरमाइन्ड’ पक्र्यौँ

अफगानिस्तान र भारतलाई आरोप
पाकिस्तानका गृहमन्त्रीले भने: इस्लामाबाद आक्रमणको ‘मास्टरमाइन्ड’ पक्र्यौँ

पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी


नेपालखबर
माघ २५, २०८२ आइतबार ८:१४, काठमाडौँ

पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले इस्लामाबाद इमामबाडा बम विस्फोटका मास्टरमाइन्डलाई पक्राउ गरिएको बताएका छन्।

इस्लामाबादको तरलाई क्षेत्रको इमामबाडामा शुक्रबार आत्मघाती बम विस्फोट गरिँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री नकवीले विस्फोटको मास्टरमाइन्ड इस्लामिक स्टेट (आईएसआईएस)  सँग सम्बन्धित एक अफगानी नागरिक भएको बताए।

उनले सिया मस्जिदमा भएको आत्मघाती बम विस्फोटमा सहयोग गरेको आशंकामा चार जनालाई पक्राउ गरिएको जानकारी गराए। 

उनले भने, ‘तीमध्ये आक्रमणका मास्टरमाइन्ड पनि एक छन्।’

यसअघि आईएसआईएसले पनि त्यो हमला आफूले गराएको भनेर जिम्मेवारी लिइसकेको छ। 

पाकिस्तानका गृहमन्त्री नकवीले आक्रमणको सबै योजना र तालिम अफगानिस्तानमा भएको आरोप लगाए।

उनले भने, ‘अब हामीसँग यस्ता व्यक्ति हिरासतमा छन्, जसले आक्रमणकारीलाई कसरी भित्र्याइयो र तालिम दिइयो भन्नेबारे विस्तृत जानकारी दिएका छन्।’

नकवीले पाकिस्तानको ‘आतंकवादको जरा’ अफगानिस्तानमा रहेको आरोप लगाए।

यसैबिच अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानको आरोपलाई अस्वीकार गरिरहेको छ।

पाकिस्तानले अफगानिस्तान र भारत दुवैविरुद्ध आरोप लगाएको छ।

शनिबार पत्रकार सम्मेलनमा पाकिस्तानका गृहमन्त्री नकवीले भारतले अफगानिस्तानबाट सञ्चालित आतंकवादी सञ्जाललाई आर्थिक सहयोग गरिरहेको आरोप लगाए।

यद्यपि उनले कुनै प्रमाण दिन सकेनन्।

भारतको विदेश मन्त्रालयले पहिले नै पाकिस्तानको दाबीलाई अस्वीकार गरिसकेको छ।

भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इस्लामाबादको मस्जिदमा भएको बम विस्फोट निन्दनीय छ र भारतले मृत्युमा शोक व्यक्त गर्दछ।’

‘दुर्भाग्यपूर्ण छ- पाकिस्तानले आफ्ना सामाजिक समस्या गम्भीरतापूर्वक सम्बोधन गर्नुको सट्टा अरूलाई दोष दिइरहेको छ।’

‘भारतले त्यस्ता कुनै पनि आरोपलाई अस्वीकार गर्दछ, जुन आधारहीन छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad