बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेदले यही फेब्रुअरी १२ मा हुने आम चुनावमा ‘धाँधली’ हुने आशंका व्यक्त गरेका छन्।
अमेरिकामा रहेका उनले सोमबार साँझ भिडिओ कन्फरेन्सिङमार्फत कोलकातामा पुस्तक समीक्षाका क्रममा भने, ‘अवामी लिगलाई यो चुनावबाट बाहिर राखिएको छ, यो वास्तवमा दुई-दलीय प्रतिस्पर्धा हो। सबै प्रगतिशील दललाई दबाइँदै छ। यो वास्तवमा चुनाव होइन।’
उनले ‘यो चुनावपछि जमात-ए-इस्लामीले स्वतन्त्रता पाउने, आतंकवाद बढ्ने र भारतलाई खतरा पैदा हुने’ दाबी पनि गरेका छन्।
उनले अगाडि भने, ‘पाकिस्तानलाई बंगलादेशमा छुट मिल्नेछ र यसको गम्भीर परिणाम हुनेछ।
साथै सजीवले बंगलादेशको वर्तमान शासनले यसअघि कहिले नभएको हुलाक मतदानलाई अनुमति दिएको टिप्पणी पनि गरे।
उनले भने, ‘सामान्य मतपत्रमा गडबडी सजिलै देख्न सकिन्छ तर तपाईं हुलाकी मतपत्रमा केही देख्न सक्नुहुन्न। बस, तपाईंले निर्वाचन आयोगले दिएको तथ्यांकमा विश्वास गर्नुपर्छ।’
उनले अन्तर्राष्ट्रिय समुदायलाई बंगलादेशमा हुन लागेको चुनाव स्वतन्त्र र निष्पक्ष हुन नसक्ने जिकिर गर्दै यसलाई मान्यता नदिन आग्रह पनि गरेका छन्।
उनले भने, ‘यसको पहिल्यै विरोध गरिएन भने देशले कठपुतली सरकार पाउनेछ।’
अवामी लिगको भविष्यबारे पनि उनले धारणा राखे।
उनले भने, ‘अवामी लिग कतै जाँदैन। यसको लगभग ४० प्रतिशत भोट बैंक छ। यसले आफ्नो अडान परिवर्तन गर्दैन। तर त्यतिबेलासम्म अवस्था कस्तो होला! एकातिर विदेशी शक्ति हुनेछन् भने अर्कातिर इस्लामवादी सरिया कानुन थोपर्ने प्रयास गर्नेछन्।’
उनले अन्तर्राष्ट्रिय समुदायलाई विशेष अपिल गर्दै भने, ‘यो जमात-ए-इस्लामी र इस्लामिक आतंककारीलाई देश चलाउनबाट रोक्ने अन्तिम मौका हो।’
यसअघि बंगलादेश सरकारले दिल्लीमा शेख हसिनाले दिएको सार्वजनिक अभिव्यक्तिनप्रति कडा असन्तुष्टि व्यक्त गरेको थियो। हसिनाको भिडिओ भाषण जनवरी २३ मा सार्वजनिक गरिएको थियो।
Shares

प्रतिक्रिया