अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनविरुद्ध जारी युद्ध एक हप्ता रोक्न सहमत भएको बताएका छन्।
आफ्नो आग्रहअनुसार पुटिन ‘अत्यधिक चिसोका कारण युक्रेनको राजधानी किएभ र अन्य सहरमा आक्रमण एक हप्ता स्थगन गर्न सहमत भएको’ ट्रम्पले बताएका हुन्।
वासिङ्टन डीसीमा टेलिभिजनमा प्रसारित मन्त्रिपरिषद् बैठकका क्रममा ट्रम्पले भने, ‘मैले व्यक्तिगत रूपमा राष्ट्रपति पुटिनलाई किएभ र अन्य सहरमा एक हप्ता आक्रमण नगर्न अनुरोध गरेको थिएँ, त्यसमा उनले सहमति जनाएका छन्।’
यद्यपि रुसले आधिकारिक रूपमा त्यस्तो कुनै सम्झौता भएको पुष्टि गरेको छैन।
यसैबिच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पको भनाइको स्वागत गर्दै रुसले आफ्नो वाचा पूरा गर्ने विश्वास व्यक्त गरेका छन्।
बीबीसीका अनुसार ट्रम्पले आक्रमण रोक्ने समयसीमा भने उल्लेख गरेका छैनन्।
राजधानी किएभमा बिहीबार रातिदेखि तापक्रम तीव्र रूपमा घट्ने र केही दिनमा माइनस २४ डिग्री सेल्सियससम्म झर्ने सम्भावना रहेको बताइएको छ।
रुसले कडा जाडोको समयमा युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारेको छ।
सन् २०२२ मा युद्ध सुरु भएदेखि उसले हरेक जाडोमा यस्तै गर्ने गरेको छ।
Shares

प्रतिक्रिया