दक्षिण कोरियाको अदालतले देशकी पूर्वप्रथम महिला किम केओन हीलाई भ्रष्टाचार कसुरमा २० महिनाको जेल सजाय सुनाएको छ।
बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले उनलाई घुस लिएको घटनामा दोषी ठहर गरे पनि स्टक हेरफेर र चुनावी वित्तसम्बन्धी कानुन उल्लङ्घनका आरोपबाट भने मुक्त गरेको छ।
त्रिपन्न वर्षीया किम लामो समयदेखि विवादमा तानिँदै आएकी थिइन्। भ्रष्टाचार, प्रभावको दुरुपयोग र शैक्षिक अभिलेखमा अनियमितताका आरोपले उनका पति पूर्वराष्ट्रपति युन सुक योलको कार्यकालभरि दक्षिण कोरियाको राजनीति प्रभावित भएको थियो।
किम र युन दुवै डिसेम्बर २०२४ मा मार्सल ल घोषणा र त्यसपछि उत्पन्न राजनीतिक अराजकतासँग सम्बन्धित घटनाका कारण हिरासतमा छन्।
अदालतका अनुसार किमले व्यवसायी तथा राजनीतिज्ञहरूबाट दुई लाख अमेरिकी डलरभन्दा बढी मूल्यका उपहार र नगद लिएकी थिइन्।
त्यसमा एक धार्मिक समूहका नेताबाट प्राप्त दुईवटा ब्रान्डेड ह्यान्डब्याग र गहनासमेत थिए। यद्यपि अभियोजन पक्षले लगाएको स्टक हेरफेर र चुनावी कोष दुरुपयोगको आरोप प्रमाणित हुन सकेन।
कालो पोसाक, मास्क र चस्मा लगाएर सजाय सुनुवाइका क्रममा किम अदालतमा उपस्थित थिइन्।
अभियोजकहरूले उनी आफूलाई कानुनभन्दा माथि ठान्ने र राज्य तथा धर्मबिचको संवैधानिक विभाजन कमजोर पार्ने कार्यमा संलग्न भएको दाबी गरेका थिए।
उनका कार्यले देशका संस्थाहरूलाई गम्भीर रूपमा कमजोर पारेको अभियोजनको तर्क थियो। किमले भने अन्तिम बयानमा आरोप अन्यायपूर्ण भएको बताउँदै अस्वीकार गरेकी थिइन्।
तर आफ्नो भूमिकाका कारण समस्या उत्पन्न भएको स्वीकार गर्दै माफी मागेकी थिइन्।
'मलाई सुम्पिएको जिम्मेवारीबारे सोच्दा धेरै गल्ती गरेको स्पष्ट हुन्छ', उनले भनेकी थिइन्।
किमले गरेका घोटालाले तत्कालीन राष्ट्रपति युनको राजनीतिक एजेन्डालाई बारम्बार छायाँमा पारेका थिए।
सन् २०२३ मा सार्वजनिक एक भिडिओमा उनले महँगो लक्जरी ह्यान्डब्याग स्वीकार गरेको देखिएपछि ‘डायर ब्याग काण्ड’ले देशव्यापी आलोचना भएको थियो।
यसले सन् २०२४ को संसदीय चुनावमा युनको दलको हारमा पनि भूमिका खेलेको विश्लेषकहरू बताउँछन्।
Shares

प्रतिक्रिया