इरानमा दुई हप्तादेखि सरकारविरोधी प्रदर्शन भइरहँदा अमेरिकाका अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई त्यहाँ सम्भावित सैन्य हमलाका विकल्पबारे जानकारी गराएका छन्।
न्युयोर्क टाइम्सको रिपोर्टअनुसार इरानी सरकारले प्रदर्शनकारीविरुद्ध बल प्रयोग जारी राखेमा ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही गर्नेबारे गम्भीरतापूर्वक विचार गरिरहेका छन्।
यद्यपि राष्ट्रपति ट्रम्पले अझै अन्तिम निर्णय गरिनसकेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
रिपोर्टअनुसार कुराकानीका क्रममा इरानमा अमेरिकी हस्तक्षेपको सम्भावनाबारे छलफल भएको थियो।
एक अमेरिकी अधिकारीले छलफल गरिएको पुष्टि त गरे तर विषय खुलाएनन्।
ट्रम्पले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘इरान यसअघि कहिल्यै नभएको स्वतन्त्रताका लागि तत्पर छ। अमेरिका मद्दत गर्न तयार छ।’
अमेरिकाले इरानमा सैन्य हमलाबारे छलफल गरिरहेका बेला इजरायल पनि उच्च सतर्कतामा छ।
इजरायली स्रोतलाई उद्धृत गर्दै रोयटर्सले इजरायलका सुरक्षा एजेन्सीले परिस्थितिलाई ध्यानमा राख्दै सतर्कता बढाएको उल्लेख गरेको छ।
गत जुनमा इजरायल र इरानबीच १२ दिन युद्ध भएको थियो। त्यस क्रममा अमेरिकाले पनि इजरायलसँग मिलेर हवाई हमला गरेको थियो।
शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच फोन वार्ता भएको थियो।
यसैबीच इरानले अमेरिकालाई कडा चेतावनी दिएको छ।
इरानी संसद्का सभामुख मोहम्मद बाघेर कालिबाफले भनेका छन्, ‘अमेरिकाले प्रदर्शनकारीहरूको पक्ष लिँदै इरानमा आक्रमण गर्यो भने अमेरिकी सेना र इजरायल दुवै इरानको निसानामा पर्नेछन्।’
इरानले इजरायलविरुद्ध प्रत्यक्ष धम्की दिएको यो पहिलोपटक हो।
यसैबीच टाइम पत्रिकाले तेहरानका एक डाक्टरलाई उद्धृत गर्दै प्रदर्शनमा अहिलेसम्म कम्तीमा २१७ प्रदर्शनकारी मारिएको दाबी गरेको छ।
अनि समाचार एजेन्सी एपीका अनुसार अहिलेसम्म २ हजार ६०० भन्दा बढी आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिने धम्की
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले प्रदर्शनकारीहरूविरुद्ध कडा अडान लिएका छन्।
इरानका महान्यायाधिवक्ता मोहम्मद मोवाहेदी आजादले विरोध प्रदर्शनमा भाग लिनेहरूलाई 'ईश्वरका शत्रु' मानिने बताएका छन्।
त्यसैले उनीहरूविरुद्ध मृत्युदण्डसम्मको सजाय हुन सक्ने चेतावनी उनले दिएका छन्।
बेलायतमा इरानी दूतावासको झण्डा निकालियो
लन्डनमा पनि इरानी दूतावासबाहिर विरोध प्रदर्शन भएको छ।
यस क्रममा एक प्रदर्शनकारीले दूतावासबाट इस्लामिक गणतन्त्र इरानको झण्डा हटाए र १९७९ को इस्लामिक क्रान्तिअघि प्रयोग गरिएको झण्डा फहराइदिएका छन्।
सामाजिक सञ्जालमा भाइरल भिडिओमा प्रदर्शनकारीले सिंह र सूर्यको प्रतीक भएको तिरंगा झण्डा फहराएका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार, यो झण्डा निकै बेरसम्म दूतावासमा राखिएको थियो। तर पछि हटाइयो।
शाह (राजा) को शासनकालमा इरानमा यो झण्डा प्रयोग गरिएको थियो।
प्रदर्शनका क्रममा ‘इरानका लागि लोकतन्त्र’ र ‘स्वतन्त्र इरान’जस्ता नारा लगाइएका थिए।
लन्डन प्रहरीले झण्डा हटाउने घटनापछि थप अवरोध रोक्न र इरानी दूतावासको सुरक्षा सुनिश्चित गर्न सुरक्षा बढाइएको बताएको छ।
प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको पनि बताएको छ भने अर्का एक जनाको खोजी भइरहेको जनाएको छ।
This is the Iranian hero and master climber who scaled the walls of the Islamic regime’s embassy in London today.
— Visegrád 24 (@visegrad24) January 10, 2026
He tore down the regime flag and flew Iran’s real flag instead
🦁☀️ pic.twitter.com/SO4lEL6BKF
Shares

प्रतिक्रिया