ग्लोबल


किमकी किशोरी छोरीको भ्रमणले उत्तर कोरियाको सत्ता राजनीतिमा दियो नयाँ संकेत

किमकी किशोरी छोरीको भ्रमणले उत्तर कोरियाको सत्ता राजनीतिमा दियो नयाँ संकेत

नेपालखबर
पुस १८, २०८२ शुक्रबार २०:१२, काठमाडौँ

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी किशोरी छोरीले पवित्र पारिवारिक समाधिमा गरेको पहिलो सार्वजनिक भ्रमणलाई सम्भावित उत्तराधिकारीमा उनको स्थान बलियो बनाउने कदमका रूपमा विश्लेषकहरूले हेरेका छन्।

नयाँ वर्षका दिन बिहीबार सम्पन्न उक्त भ्रमणले उत्तर कोरियाको सत्ता राजनीतिमा नयाँ सङ्केत दिएको बताइएको छ। करिब १३ वर्षकी किम जु ए नाम भएकी किशोरीले प्योङयाङस्थित कुमसुसन प्यालेस अफ द सनमा आफ्ना आमाबुबासँगै उपस्थित भई गहिरो सम्मान प्रकट गरेकी थिइन्।

यही दरबारमा उनका दिवङ्गत जिजुहजुरबुबा किम जोङ इल र हजुरबुबा किम इल सुङको शव संरक्षण गरी राखिएको छ।

शुक्रबार सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा किम जु ए अगाडिको पङ्क्तिमा उभिएर श्रद्धापूर्वक नमन गरिरहेको देखिन्छ।

दक्षिण कोरियाको निजी सेजोङ संस्थानका उपप्रमुख चेओङ सेओङ–चाङका अनुसार कुमसुसन दरबारलाई उत्तर कोरियाली शासनको वैधताको प्रतीक मानिन्छ।

उनका अनुसार वर्कर्स पार्टीको आगामी कङ्ग्रेसको सन्दर्भमा किम जु एलाई त्यहाँ उपस्थित गराइनु राजनीतिक रूपमा योजनाबद्ध कदम हो, जसले उनलाई भावी उत्तराधिकारीका रूपमा प्रस्तुत गर्ने उद्देश्य बोकेको हुनसक्छ।

एकचालीस वर्षीय किम जोङ उन सन् १९४८ मा उत्तर कोरियाको स्थापना भएयता शासन गर्दै आएको किम परिवारको तेस्रो पुस्ता हुन्।

उनले प्रायः प्रमुख राज्य वार्षिकोत्सवका अवसरमा कुमसुसन दरबारमा पुगेर आफ्ना पिता र हजुरबुबाप्रति श्रद्धा अर्पण गर्ने परम्परालाई निरन्तरता दिइरहेका छन्।

चेओङ सेओङ–चाङले किम जोङ उनले आगामी वर्कर्स पार्टी कङ्ग्रेसमा आफ्नी छोरीलाई पार्टीको पहिलो सचिवजस्तो महत्त्वपूर्ण पद दिन सक्ने सम्भावना औँल्याएका छन्।

तर अन्य केही विज्ञहरूको मतमा किम जु ए यति उच्च–प्रोफाइल जिम्मेवारी सम्हाल्न अझै कम उमेरकी छिन्, त्यसैले उनलाई तल्लो तहको पदबाट राजनीतिक अभ्यास सुरु गराउन सकिने अनुमान गरिएको छ।

पाँच वर्षपछि हुन लागेको यो कङ्ग्रेसको उद्देश्य राज्यका नीतिगत प्राथमिकता पुनःनिर्धारण गर्नु र नेतृत्व तहमा फेरबदल गर्नु हो।

उत्तर कोरियाले कङ्ग्रेसको मिति औपचारिक रूपमा सार्वजनिक नगरे पनि दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार यो जनवरी वा फेब्रुअरी महिनामा हुनसक्ने सम्भावना छ।

नोभेम्बर २०२२ मा पहिलो पटक राज्य सञ्चारमाध्यममा देखा परेपछि किम जु ए आफ्ना बुबासँग सैन्य परेड, अन्तरमहादेशीय मिसाइल प्रक्षेपणलगायत महत्त्वपूर्ण कार्यक्रममा निरन्तर सहभागी भइरहेकी छन्।

सेप्टेम्बरमा उनी आफ्ना बुबासँगै बेइजिङ भ्रमणमा गएकी थिइन्। यसै साता नयाँ वर्षको उत्सवका क्रममा उनले आफ्ना बुबाको गालामा चुम्बन गर्दै निकट पारिवारिक सम्बन्धसमेत सार्वजनिक रूपमा देखाएकी छन्।

जनवरी २०२४ मा दक्षिण कोरियाली गुप्तचर एजेन्सीले किम जु एलाई किम जोङ उनको सम्भावित उत्तराधिकारीका रूपमा मूल्याङ्कन गरिएको जनाएको थियो।

यद्यपि उनको कम उमेर र उत्तर कोरियाको शक्ति संरचना अत्यन्त पुरुष-प्रधान रहेको तथ्यलाई आधार बनाएर केही अन्तर्राष्ट्रिय विज्ञहरूले उक्त मूल्याङ्कनप्रति असहमति जनाका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad