अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान मम्दानीले नयाँ वर्ष सन् २०२६ सुरु भएको दिन पदको शपथ खाएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डेमोक्र्याटिक नेता मम्दानीले जनवरी १ का दिन न्युयोर्कको मेयरका रूपमा शपथ खाएका हुन्।
म्यानहट्टनस्थित हाल बन्द ऐतिहासिक सबवे स्टेसनमा आयोजित समारोहमा मम्दानीले कुरानमा हात राखेर शपथ खाएका हुन्।

शपथ ग्रहणका क्रममा मम्दानीले भने, ‘यो मेरो जीवनको सबैभन्दा ठूलो सम्मान र विशेषाधिकार हो।’
शपथ न्युयोर्कका महान्यायाधिवक्ता लेटिसिया जेम्सले खुवाएकी हुन्, जसलाई मम्दानीको राजनीतिक सहयोगी मानिन्छ।
३४ वर्षीय जोहरान मम्दानी १०० वर्षभन्दा बढी समयपछि न्युयोर्कका सबैभन्दा कान्छा र पहिलो मुस्लिम मेयर हुन्। उनी न्युयोर्कमा दक्षिण एसियाली मूलबाट मेयर बन्ने पहिलो व्यक्ति पनि हुन्।
न्युयोर्कमा गत नोभेम्बरमा मेयरको चुनाव भएको थियो। जसमा उनी विजयी भएका थिए।
मेयरमा शपथसँगै मम्दानी अमेरिकाका सबैभन्दा नजिकबाट हेरिएका राजनीतिकर्मीमध्ये एक बनेका छन्।
मम्दानीलाई डेमोक्र्याटिक पार्टीमा उदाउँदो नेता मानिन्छ र पार्टीको प्रगतिशील राजनीतिको अनुहार मानिन्छ।
मेयर पदलाई अमेरिकामा सबैभन्दा कठिन र तनावपूर्ण काममध्ये एक मानिन्छ।
Shares

प्रतिक्रिया