ग्लोबल


असममा भाजपा नेताको घरमा प्रदर्शनकारीले लगाइदिए आगो

असममा भाजपा नेताको घरमा प्रदर्शनकारीले लगाइदिए आगो

कार्बी आङ्लोङ भारतीय संविधानको छैटौँ अनुसूचीअन्तर्गत एक स्वायत्त क्षेत्र हो।


नेपालखबर
पुस ८, २०८२ मंगलबार १४:४३, काठमाडौँ

भारतीय राज्य असमको पश्चिम कार्बी आङ्लोङ जिल्लामा भारतीय जनता पार्टी (भाजपा) का एक शीर्ष नेताको घरमा आगजनी गरिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार खेरोनी प्रहरी चौकी क्षेत्रस्थित भाजपाको नेतृत्वमा रहेको कार्बी आङ्लोङ स्वायत्त परिषद्का प्रमुख कार्यकारी सदस्य तुलीराम रोङ्हाङको घरमा सोमबार प्रदर्शनकारीले आगो लगाइदिएका हुन्। 

प्रदर्शनकारी र रोङ्हाङबीच बैठक हुने तयारी भइरहेको बेला भिडले उनको घरमा आगजनी गरेको आरोप छ।

तर आगजनीका बेला भाजपा नेताको परिवारको कुनै पनि सदस्य घरमा थिएनन्।

जिल्ला प्रशासनले तनाव बढेपछि भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागु गरेको छ।

राज्यका मुख्य सचिव र प्रहरी महानिदेशकलाई स्थिति नियन्त्रण गर्न प्रभावित क्षेत्रमा पठाइएको छ।

किन भयो घटना?

स्थानीय आदिवासी यही डिसेम्बर ६ देखि खेरोनी प्रहरी चौकी क्षेत्रअन्तर्गत पर्ने फेलाङपीमा भोक हडतालमा छन्। 

कार्बी आङ्लोङ भारतीय संविधानको छैटौँ अनुसूचीअन्तर्गत स्थापित एक स्वायत्त क्षेत्र हो, जहाँ आरक्षित जग्गा अन्य राज्यका  ‘बाहिरी’ मानिसले अतिक्रमण गरेको उनीहरूको आरोप छ। 

त्यस क्षेत्रमा रहेका ‘अवैध’ बस्ती हटाइनुपर्ने माग उनीहरूले गरेका छन्। 

विरोधमा उत्रिएका स्थानीय।

विरोध प्रदर्शनमा उत्रिएकाहरूले सोमबार बिहान प्रहरीले भोक हडतालमा बसेका केही साथीलाई जबरजस्ती हटाएको आरोप लगाएका छन्।

यसपछि सयौँ प्रदर्शनकारी सडकनजिकैको पुलमा भेला भएर नारा लगाउन थाले।

यसैबीच तनाव बढ्दै जाँदा प्रदर्शनकारीहरूले भाजपा नेता र आदिवासी परिषद् प्रमुख रोङहाङको घरमा आगजनी गरेको आरोप छ।

प्रहरीले स्थिति नियन्त्रणका लागि हवाई फायरिङसमेत गर्नुपरेको थियो। 

त्यस क्रममा २० सुरक्षाकर्मीसहित कम्तीमा २२ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

एक प्रहरी अधिकारीले भनेका छन्, ‘स्थिति नियन्त्रण गर्न प्रहरीले गोली चलाउनुपरेको थियो, जसमा दुई प्रदर्शनकारीको खुट्टामा गोली लागेको छ।’

प्रदर्शनकारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad