ग्लोबल


बंगलादेशमा शेख हसिनाको गढ गोपालगन्जमा झडप, ४ जनाको मृत्यु

बंगलादेशमा शेख हसिनाको गढ गोपालगन्जमा झडप, ४ जनाको मृत्यु

नेपालखबर
साउन १, २०८२ बिहिबार ७:४५, काठमाडौँ

बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको गढ भनेर चिनिने गोपालगन्जमा बुधबार हिंसा भएको छ। 

बंगलादेशी सञ्चारमाध्यम ढाका ट्रिब्युनका अनुसार बुधबार राष्ट्रिय नागरिक पार्टी (एनसीपी) ले गोपालगन्जमा निकालेको र्‍यालीमा हसिनाको पार्टी अवामी लिगका समर्थकले विरोध गरेपछि हिंसा भड्किएको हो।

झडपमा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ। भीड नियन्त्रण गर्न सेनाले गोली चलाउनुपरेको थियो। 

गोपालगन्ज पूर्वप्रधानमन्त्री शेख हसिनाका बुबा तथा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानको गृहनगर हो।

ढाका ट्रिब्युनले गोपालगन्ज जनरल अस्पतालका सुपरिटेन्डेन्ट जिबितेश विश्वासलाई उद्धृत गर्दै चार जनालाई अस्पतालमा मृत अवस्थामा ल्याइएको उल्लेख गरेको छ। उनीहरूलाई गोली लागेको थियो। 

एनसीपीका प्रमुख संयोजक नसिरुद्दिन पटवारीले पत्रकारहरूसँग अवामी लिगका नेता र कार्यकर्ताहरूले आक्रमण गरेको आरोप लगाएका छन्। उनका अनुसार घटनास्थलमा प्रहरी र सेना परिचालन गर्दा पनि हिंसा रोक्न हम्मेहम्मे परेको थियो।

अवामी लिग समर्थकहरू लाठी र डण्डी लिएर एनसीपीको र्‍याली स्थलमा पुगेको एनपीसी संयोजक पटवारीको भनाइ छ।

यसैबीच स्थानीय समयअनुसार बुधबार राति ८ बजेदेखि गोपालगन्जमा २२ घण्टाका लागि कर्फ्यु लगाइएको बताइएको छ। 

गत वर्ष जुलाईमा बंगलादेशमा तत्कालीन सरकारविरुद्ध भएको विद्यार्थी आन्दोलन चर्किएपछि हसिना सत्ता छाड्दै भाग्नुपरेको थियो। त्यसबेलादेखि उनी भारतको शरणमा छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad