अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध भन्सार महसुल बढाउँदा रुसको अर्थतन्त्रमा ठूलो असर पर्ने दाबी गरेका छन्।
सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले रुसबाट तेल किन्ने भारतलाई ५० प्रतिशत कर लगाउँदा रुसलाई ठूलो झट्का पर्ने बताएका हुन्।
ट्रम्पले भने, ‘रुसको अर्थतन्त्र राम्रो अवस्थामा छैन। यसमा धेरै असर परेको छ। अझ गाह्रो तब हुन्छ जब अमेरिकाका राष्ट्रपतिले रुसको सबैभन्दा ठूलो वा दोस्रो ठूलो तेल खरिदकर्तालाई भन्छन्- यदि तपाईंले रुसी तेल किन्नुहुन्छ भने हामी तपाईंमाथि ५० प्रतिशत कर लगाउँदै छौँ। यो उनीहरू (रुस) का लागि ठूलो झट्का हो।’
उनले अगाडि भने, ‘म यो भन्दा धेरै ठूला कदम चाल्न पूर्ण रूपमा तयार थिएँ। तर मलाई पुटिनबाट फोन आयो- उनी मलाई भेट्न चाहन्छन्। अब म हेर्छु- उनी के कुरामा भेट्न चाहन्छन्। म युद्धविराम हेर्न चाहन्छु। म दुवै पक्षका लागि लाभदायक सम्झौता हेर्न चाहन्छु।’
युक्रेनमा युद्धविराम गर्ने विषयमा छलफल गर्न ट्रम्प र पुटिन अगस्ट १५ मा अमेरिकाको अलास्कामा भेट्ने तय भएको छ। तर आफूलाई सहभागी नगराई गर्न लागिएको यो शान्ति वार्ता मान्य नहुने युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले चेतावनी दिइरहेका छन्।
Shares

प्रतिक्रिया