युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामको ‘नाटक’ मात्र गरिरहेको आरोप लगाएका छन्।
युक्रेनमा युद्धका अन्त्यका विषयमा पुटिन यही अगस्ट १५ का दिन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटेर छलफल गर्दै छन्। जसमा जेलेन्स्कीलाई भने बोलाइएको छैन।
यसै सन्दर्भमा उनले पुटिन खासमा युद्धविराम गर्ने मनसायमा नरहेको टिप्पणी गरेका हुन्।
जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘आज गुप्तचर र सैन्य कमान्डबाट एक रिपोर्ट प्राप्त भएको छ, जसले पुटिन के तयारी गरिरहेका छन् भन्ने विषयमा बताएको छ। के स्पष्ट छ भने पुटिन न युद्धविरामका लागि तयारी गरिरहेका छन् न युद्ध अन्त्य गर्न।’
उनले अगाडि भनेका छन्, ‘पुटिन अमेरिकासँगको बैठकलाई आफ्नो व्यक्तिगत विजयका रूपमा प्रस्तुत गर्न चाहन्छन् र त्यसपछि पहिलेजस्तै युक्रेनमा दबाब जारी राख्न चाहन्छन्।’
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उल्टै पुटिनले युक्रेनमा नयाँ आक्रमणका लागि आफ्ना सेना तैनाथ गरिरहेको दाबी गरेका छन्।
उनले भनेका छन्, कसैले शान्तिका लागि तयारी गर्छ भने, उसले यस्तो गर्दैन।’
Shares

प्रतिक्रिया