अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई अमेरिकाबाहिर बनेका आइफोनमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका छन्। साथै उनले जुन महिनादेखि युरोपेली संघमा ५० प्रतिशत भन्सार लगाउने पनि बताएका छन्।
ट्रम्पले शुक्रबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘मैले एप्पलका टिम कुकलाई पहिले नै भनिसकेको छु कि अमेरिकामा बेचिने आइफोन भारत वा अन्य कुनै देशमा होइन, अमेरिकामै बनाइनुपर्छ। यदि यसो भएन भने एप्पलले अमेरिकालाई कम्तीमा २५ प्रतिशत ट्यारिफ (कर) तिर्नुपर्नेछ।’
आफ्नो दोस्रो पोस्टमा ट्रम्पले युरोपेली संघमा कर लगाउनेबारे लेखेका छन्, ‘मूल रूपमा व्यापारमा संयुक्त राज्य अमेरिकाबाट फाइदा उठाउन सिर्जना गरिएको युरोपेली संघसँग सम्झौता गर्न धेरै गाह्रो भइरहेको छ।’
उनले अगाडि लेखेका छन्, ‘उनीहरूको व्यापार अवरोध, भ्याट कर, अनावश्यक कर्पोरेट जरिवाना, मौद्रिक हेरफेर र अमेरिकी कम्पनी विरुद्धको अनुचित मुद्दाले अमेरिकालाई हरेक वर्ष २५ करोड डलरभन्दा बढीको व्यापार घाटा भइरहेको छ, जुन पूर्णतया अस्वीकार्य छ।’
यस क्रममा ट्रम्पले उनीहरूसँगको वार्ता कुनै निष्कर्षमा पुग्न नसकिरहेको गुनासो पनि गरेका छन्।
‘त्यसैले म २०२५ जुन १ देखि युरोपेली संघमा प्रत्यक्ष ५० प्रतिशत भन्सार लगाउन सिफारिस गर्दै छु’, उनले लेखेका छन्।
यद्यपि ट्रम्पले कुनै पनि उत्पादन अमेरिकामा गरिन्छ त्यसमा कुनै पनि शुल्क नलगाइने उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया