ad ad

ग्लोबल


पीसीआर रिपोर्टको झमेलाले चीनको ग्वाङजाउमै रोकिए सात नेपाली विद्यार्थी

पीसीआर रिपोर्टको झमेलाले चीनको ग्वाङजाउमै रोकिए सात नेपाली विद्यार्थी

चेतनाथ आचार्य
कात्तिक १, २०७७ शनिबार ७:५१,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा स्थापित स्वास्थ्य डेक्सले विभिन्न अन्तर्राष्ट्रिय वायु सेवालाई दिएको अपुरो र अधकल्चो निर्देशनका कारण चीनको क्वाङचौ (नेपाली उच्चारण ग्वाङजाउ) मा सात जना नेपाली विद्यार्थी अलपत्र परेका छन्।

चाइना साउदन एयरलाइन्सबाट शनिबार बिहान काठमाडौँ उड्न लागेका उनीहरुलाई एयरलाइन्सले उड्न नदिँदा अलपत्र परेका हुन्। डेक्सले अन्तर्राष्ट्रिय वायु सेवालाई विभिन्न देशबाट फर्कने नेपालीले कोरोना परीक्षण गराएको प्रमाणपत्र अंग्रेजी भाषामै हुनुपर्ने र त्यसमा ‘पीसीआर’ उल्लेख हुनैपर्ने अन्यथा कुनै पनि नेपालीलाई ल्याउन नपाउने निर्देशन दिएको छ।

कोरोना महामारीपछि चीनबाट फर्कने प्रायः देशका नागरिकलाई चीनले चिनियाँ भाषामै कोरोना परीक्षणको प्रमाणपत्र दिने गरेको छ। चिनियाँ भाषाको प्रमाणपत्रलाई अन्य देशले सहजै मान्यता दिए पनि नेपालले भने अंग्रेजी भाषामै हुनुपर्ने निर्देशन दिएको छ।

स्मार्ट फोनले स्क्यान गरेर तुरुन्तै अनुवाद गर्न सकिने अवस्थामा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेक्सले अंग्रेजी भाषामै हुनुपर्ने निर्देशन दिनु उपयुक्त नभएको बताइएको छ। चीनमा एकाध अन्तर्राष्ट्रिय अस्पतालहरुले मात्र अंग्रेजी भाषामा त्यस्ता प्रमाणपत्र दिने गरेका छन् र त्यस्ता अस्पतालमा परीक्षण गराएको शुल्क पनि महँगो पर्ने गरेको छ।

चीनको हाइनान प्रान्तका विभिन्न होटलमा स्नातक तहको अध्ययनका क्रममा एक वर्षे इन्टर्न गर्न आएका ६ जना र हाङचौबाट आएका एक जना विद्यार्थीहरु शनिबार नेपाल फर्कनका लागि क्वाङचौ पुगेका थिए।

शुक्रबार मध्यरातमा क्वाङचौ आइपुगेका उनीहरु बिहान ६ नबज्दै चाइना साउर्दन एयरलाइन्सको काठमाडौँ उड्ने काउन्टरमा पुगेका थिए। समयमै काउन्टरमा पुगेका उनीहरुलाई नेपाल सरकारकै निर्देशिका बमोजिम आफूहरुले उडाउन नसक्ने भन्दै रोकेपछि उनीहरु अलपत्र परेका हुन्।

अलपत्र पर्ने नेपाली विद्यार्थीहरुमा धरानका नारायण घिमिरे, चितवनका आका गर्जबुजा, हेटौँडाका सुनिल लामा, बुटवलका रामप्रसाद आचार्य, बर्दियाका अरुण कामी, बुटवलकी प्रतीक्षा गुरुङ र भैरहवाका अनुभव श्रेष्ठ छन्।

बोर्डिङ पास लिने लाइनमा बसेका बेला चाइना साउर्दन एयरलाइन्सले सबै नेपाली यात्रीसँग कोरोना परीक्षणको प्रमाणपत्र माग गर्दै जाँच गर्ने क्रममा विभिन्न निहुँमा उनीहरुलाई रोकेको हो। हाङचौबाट स्नातक तहको अध्ययन सकेर फर्कदै गरेका अनुभव श्रेष्ठको पीसीआर प्रमाणपत्र चिनियाँ भाषामा मात्र भएकाले नेपाल जान अनुमति नभएको भन्दै रोकिएको श्रेष्ठले बताए। उनको भिसा भोलि सकिने भएकाले आजै हाङचौ पुगेर भिसा थप गरी आगामी साता नेपाल जानुपर्ने भएको उनले बताए।

त्यसैगरी नायारण घिमिरेको प्रमाणपत्रमा पीसीआर भन्ने शब्द उल्लेख नभएको भन्दै रोकिएको छ। सुनिल लामा, प्रतीक्षा गुरुङ र अरुण कामीलाई विमानको भर्‍याङबाट तीन मिनेट ढिला भएको भनी फर्काइएको छ। उनीहरुलाई विभिन्न बाहनामा बोर्डिङपास अबेला दिइएको थियो तसर्थ विमानमा प्रवेश गर्न दिइएन्। आकाश गर्बुजा र राम्रसाद आचार्य चाहिँ बोर्डिङ पास लिएर सुरक्षा जाँच गराए पनि बोर्डिङ हुने स्थानमा नपुग्दै बिमान उड्यो भनेर फर्काइएको छ।

नेपाली विद्यार्थी क्वाङचौमा अलपत्र परेको बारेमा आफूलाई जानकारी भएको र उनीहरुलाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा कुराकानी भइरहेको क्वाङचौस्थित महावाणिज्यदूत हरिशरण पुडासैनीले नेपालखबरलाई बताए। पुडासैनीका अनुसार सातै जनाले उही टिकटमा आगामी उडानमा काठमाडौँ जान पाउने व्यवस्था एयरलाइन्ससँग कुरा गरेर मिलाइएको छ। तर, सातैजना नेपाली विद्यार्थीहरु एक साताका लागि क्वाङचौमा रहनुपर्ने वाध्यता आइपरेको छ। उनीहरुलाई राख्नका लागि सरकारले कुनै बजेटको व्यवस्था नगरेकाले थप सहयोग गर्न सक्ने अवस्था नरहेको पनि पुडासैनीले स्पष्ट पारे।

अलपत्र पर्नेमध्ये सबैभन्दा पीडित बनेका छन् धरानका नारायण घिमिरे। उनी एक हप्ता अगाडि पनि क्वाङचौबाट उड्न नपाएर हाइनान फर्किएका थिए। असोज २३ गते शुक्रबार हाइनानबाट नेपाल जानलाई क्वाङचौ आएका घिमिरेलाई कोरोना परीक्षणको प्रमाणपत्र चिनियाँ भाषामा भएको भन्दै उड्न दिएको थिएन। उनी २४ गते शनिबार अर्को टिकट गरेर हाइना फर्किएका थिए। हाइना पुगेर उनले फेरि कोरोना परीक्षण गराई प्रमाणपत्रलाई चिनियाँ र अंग्रेजी भाषामा बनाएर असोज ३० गते शुक्रबार राति क्वाङचौ आएका थिए। यसपटक भने एयरलाइन्सले उनको कोरोना परीक्षण गरिएको प्रमाणपत्रमा ‘पीसीआर’ भन्ने शब्द उल्लेख नभएको भनी उड्न नदिएको नेपालखबरलाई बताए।

पहिले पनि दोहोर्‍याएर टिकट गरी हाइना फर्कनु परेको र अहिले बेखर्ची हुँदा अरु एक हप्ता क्वाङचौमा बस्नुपर्दा घिमिरे आत्तिएका छन्। नेपालबाट अभिभावकले टिकट गरेर फर्कदै गरेकाले आफ्नो साथमा कुनै पैसा नभएको र एक हप्ता क्वाङचौमा कसरी बस्ने भन्ने कुनै उपाय नभएको उनले गुनासो गरे। अब क्वाङचौबाट काठमाडौँ उड्नका लागि कात्तिक ८ गते शनिबारसम्म कुर्नुपर्दछ।

एयरलाइन्सले आफूलाई नेपाल जान नपाउने बताए पनि उनले क्वाङस्थित नेपाली महावाणिज्यदूतावासलाई आफू समस्यामा परेको जानकारी गराए। महावाणिज्य दूतवासले बेइजिङस्थित नेपाली दूतावासको सहयोगमा चाइना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा स्थापित स्वास्थ्य डेक्समा सम्पर्क गरी पीसीआर र एनएटी एउटै रहेको कुरामा कन्भिन्स गराएको छ। घिमिरेको कोरोना परीक्षणको प्रमाणपत्रमा एनएटी उल्लेख छ। चीनमा कोरोना परीक्षण गर्दा प्रमाणपत्रमा एनएटी अर्थात् न्युक्लिक एसिड टेस्ट लेखिने गर्छ। विश्व स्वास्थ्य संगठनले कोरोना परीक्षणमा एनएटीलाई विश्वव्यापी मान्यता दिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयस्थित स्वास्थ्य डेक्सलाई पीसीआर र एनएटी उस्तै हो भनेर बुझाउँदा क्वाङचौबाट काठमाडौँ उड्ने विमान उडिसकेको बेइजिङस्थित नेपाली दूतावासका मिनिष्टर सुशील कुमार लम्सालले बताए।

कोरोना महामारीका कारण यतिबेला चीनमा निकै कडा सुरक्षा व्यवस्था अपनाइएको छ। प्रायः होटलहरु बन्द रहेका छन्। खुलेका सस्ता होटलमा विदेशीलाई बस्न अनुमति छैन। बेखर्ची विद्यार्थीले क्वाङचौका महँगा होटलमा बस्नुपर्ने वाध्यता एकातिर छ भने आगामी शनिबार उड्नका लागि उनीहरुले फेरि कोरोना परीक्षण गराउनु पर्ने अर्को झन्झट पनि आइलागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .