अमेरिकाले शनिबार र आइतबार इरानका राडार र ड्रोन नियन्त्रण स्थलहरूमा आक्रमण गरिएको दाबी गरेको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा लेखेको छ, ‘सप्ताहन्तमा इरानका गोरुक र केस्म टापुहरूमा रहेका राडार र ड्रोन कन्ट्रोल साइट्समा आत्मरक्षाका लागि आक्रमण गरिएको छ।’
सेन्टकमले जवाफी हमला गरिएको दाबी गरेको छ।
यसअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आइतबार इरानी हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी एमक्यू-१ ड्रोन खसालिएको दाबी गरेको छ।
इरानको अर्ध-सरकारी समाचार एजेन्सी तस्निमका अनुसार आईआरजीसीको वायु रक्षा एकाइले अमेरिकी ड्रोन खसालेको हो।
आईआरजीसीका अनुसार ‘हवाई रक्षा र निगरानी प्रणालीले ड्रोनलाई तुरुन्तै चिनेको थियो। त्यसपछि त्यसलाई उन्नत मिसाइल प्रणालीले खसालिएको हो।’
इरानले ड्रोन अमेरिकी सेनाको भएको र शत्रुतापूर्ण कारबाही गर्ने उद्देश्यले हवाई क्षेत्रमा प्रवेश गरेको दाबी गरेको छ।
यस विषयमा अमेरिकी केन्द्रीय कमान्डले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
Shares

प्रतिक्रिया