ग्लोबल


भिडिओ राख्दै ट्रम्पले लेखे: इरानको 'सबैभन्दा ठुलो पुल' ध्वस्त पार्‍यौँ

भिडिओ राख्दै ट्रम्पले लेखे: इरानको 'सबैभन्दा ठुलो पुल' ध्वस्त पार्‍यौँ

इरानका विदेशमन्त्रीले सार्वजनिक गरेको पुलको तस्बिर


नेपालखबर
चैत २०, २०८२ शुक्रबार ९:५९, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘सबैभन्दा ठुलो पुल’ ध्वस्त पारिएको बताएका छन्। 

ट्रम्पले ट्रुथ सोसलमा विस्फोटबाट धुवाँको मुस्लो निस्किरहेको भिडिओ पनि राखेका छन्।

उनले भनेका छन्, ‘इरानको सबैभन्दा ठुलो पुल ध्वस्त पारिएको छ; अब यो फेरि कहिल्यै प्रयोग गर्न सकिने छैन।’

यस क्रममा उनले इरानलाई सम्झौतामा आउन ढिला नगर्न चेतावनी पनि दिएका छन्।

उनले भनेका छन्, ‘धेरै ढिला हुनुभन्दा तथा अझै एक महान् देश बन्न सक्ने केही बाँकी नबस्नुभन्दा अघि इरानले सम्झौता गर्ने समय आएको छ।’ 

यसैबिच इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पनि आक्रमणको पुष्टि गरेका छन्। 

साथै उनले नागरिक पूर्वाधारलाई निसाना बनाएकामा अमेरिकाको कडा आलोचना गर्दै यसो गर्दैमा इरानले आत्मसमर्पण नगर्ने बताएका छन्। 

अराघचीले भनेका छन्, ‘अपूर्ण पुलहरूसहित नागरिक पूर्वाधारमा आक्रमणले इरानीहरूलाई आत्मसमर्पण गर्न बाध्य पार्दैन। यस्ता घटनाले अस्तव्यस्ततामा फसेको शत्रुको हार र नैतिक पतन मात्र प्रदर्शन गर्छन्।’

उनले अगाडि भनेका छन्, ‘हरेक पुल र भवन पहिलेभन्दा बलियो गरी पुनर्निर्माण गरिनेछ। कहिल्यै पुन: प्राप्ति नहुने कुरा अमेरिकाको विश्वसनीयतामा क्षति हो।’

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई हमला गरेपछि सुरु भएको युद्ध अझै जारी छ। बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार/अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ।

जसमा परी मारिएकाको संख्या ५ हजार नाघिसकेको रिपोर्ट सार्वजनिक भएको छ।

रोयटर्सका अनुसार यो जानकारी विभिन्न एजेन्सीको पछिल्लो तथ्यांकमा आधारित छ।

सबैभन्दा बढी मानिस इरानमा मारिएका छन्। 

हेर्नुहोस् तथ्यांक 

इरान : ३,५१९ जना मारिए 

अमेरिकास्थित मानव अधिकार संगठन एचआरएएनएका अनुसार इरानमा मारिएकाहरूमा कम्तीमा २४४ बालबालिकासहित १ हजार ५९८ आम नागरिक छन्।

लेबनन : १,३१८ जना मारिए

लेबननी अधिकारीहरूका अनुसार मारिएकाहरूमा १२४ बालबालिका छन्। इजरायलले मार्च २ मा लेबननमा आक्रमण सुरु गरेको थियो। जसमा अहिलेसम्म ४०० भन्दा बढी हेजबुल्लाह लडाकु मारिएका छन्।

छुट्टाछुट्टै हमलामा कम्तीमा ९ जना लेबननी सैनिक मारिएका छन् र संयुक्त राष्ट्रसंघ शान्ति सेनाका तीन जनाको पनि मृत्यु भएको छ। तीनै जना सैनिक इन्डोनेसियाली थिए।

इराक : कम्तीमा १०७ जना मारिए

इराकी स्वास्थ्य अधिकारीहरूका अनुसार मारिएकाहरूमा सर्वसाधारण, इरान-समर्थित सिया पपुलर मोबिलाइजेसन फोर्सका सदस्य, अमेरिका-समर्थित कुर्दिस पेसमेर्गा लडाकु, प्रहरी र सेनाका कर्मचारी छन्।

इराकी बन्दरगाहनजिकै ट्यांकरमा भएको आक्रमणमा चालक दलका एक विदेशी सदस्यको पनि मृत्यु भएको छ। आतंकवादविरोधी तालिम प्रदान गर्ने एक फ्रान्सेली सैनिक पनि ड्रोन आक्रमणमा मारिएका छन्।

इजरायल : १९ जना मारिए 

इजरायलको एम्बुलेन्स सेवाका अनुसार इरान र लेबननबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट १९ जनाको मृत्यु भएको छ। इजरायली सेनाले दक्षिणी लेबननमा आफ्ना १० जना सैनिकको पनि मृत्यु भएको बताएको छ। साथै मार्च २२ मा इजरायली सैनिकले गल्तीले गोली चलाउँदा सीमानजिकै एक इजरायली किसानको मृत्यु भएको थियो।

अमेरिका : १३ जना मारिए 

अमेरिकी सेनाका अनुसार इराकमा सैन्य इन्धन भर्ने विमान दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको पुष्टि भएको छ। इरानमा अपरेसनका क्रममा अन्य ७ सैनिकको मृत्यु भएको छ।

खाडी क्षेत्र

संयुक्त अरब इमिरेट्स (यूएई) मा ११, कतारमा ७, कुवेतमा ७, वेस्ट बैंकमा ४, सिरियामा ४, बहराइनमा २, ओमानमा २ र साउदी अरेबियामा २ जना मारिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad