इरानले विश्वको सबैभन्दा उन्नत अमेरिकी लडाकु विमान एफ-३५ खसालिएको दाबी गरेको छ।
इरानी मिडिया प्रेस टीभीका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आफ्नो स्वदेशी ‘मजिद’ वायु रक्षा प्रणाली प्रयोग गरेर यही मार्च १९ मा अमेरिकी लडाकु विमान एफ-३५ खसालेको हो।
यदि यो कुरा सत्य हो भने इरान यो उपलब्धि हासिल गर्ने पहिलो देश हुनेछ। किनकि एफ-३५ लडाकु विमान लगभग दुई दशकदेखि अमेरिकी सैन्य शक्तिको सबैभन्दा ठुलो हतियार मानिएको छ।
यो सबैभन्दा प्रिमियम लडाकु विमान हो, जुन विशेष रूपमा विश्वको सबैभन्दा बलियो वायु रक्षा प्रणालीमा पनि प्रवेश गर्न र आक्रमण गर्न सक्छ।
इरानले यो ‘अदृश्य’ लडाकु जेटको कमजोरी पत्ता लगाएको दाबी गरेको छ।
इरानले भनेको छ, ‘मजिद रक्षा प्रणालीले एफ-३५ बाट निस्कने इन्फ्रारेड विकिरण अर्थात् ताप पत्ता लगायो र यसलाई निसाना बनायो।’
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले मार्च १९ मा एफ-३५ मा भएको आक्रमणको फुटेज पनि जारी गरेको छ, तर त्यो स्वतन्त्र रूपमा पुष्टि भएको छैन।
यसैबिच सीएनएनले पनि स्रोतहरूलाई उद्धृत गर्दै इरानको आक्रमणका कारण एफ-३५ लाई मध्यपूर्वमा आपत्कालीन अवतरण गर्नुपरेको उल्लेख गरेको छ।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।
इरानमा अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।
यसैबिच अमेरिका र इजरायलसँग युद्ध सुरु भएयता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को कुड्स फोर्सका प्रमुख कमान्डर ब्रिगेडियर जनरल इस्माइल कानीले पहिलोपटक शनिबार सार्वजनिक अभिव्यक्ति दिएका छन्।
जसमा उनले शीर्ष र वरिष्ठ नेता तथा अधिकारी मारिए पनि उनीहरूको आन्दोलन कमजोर नहुने उल्लेख गरेका छन्।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बिहान ऊर्जा ढुवानीका लागि विश्वकै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। अन्यथा भीषण हमला हुने धम्की दिएका छन्।
जवाफमा इरानले पनि त्यसको प्रतिकार गरिने चेतावनी दिँदै युद्ध नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ।
Shares

प्रतिक्रिया