इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले युद्ध अन्त्यका विषयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिप्रति टिप्पणी गरेको छ।
ट्रम्पले इरानमा जारी युद्ध चाँडै अन्त्य हुने सम्भावना रहेको बताएका थिए। यद्यपि उनले मिति बताएनन्।
यसमा प्रतिक्रिया दिँदै आईआरजीसीले युद्ध कहिले समाप्त हुने भन्ने कुरा इरानले निर्णय गर्ने बताएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार आईआरजीसीले चेतावनी दिएको छ, ‘यदि अमेरिका र इजरायली आक्रमण जारी रह्यो भने यस क्षेत्रबाट एक लिटर पनि तेल निर्यात गर्न दिइने छैन।’
यसैबिच होर्मुज स्टेटमा बढ्दो तनावका कारण तेलको मूल्य बढ्ने आशंका गरिएको छ।
विश्वको लगभग २० प्रतिशत तेल यस समुद्री मार्गबाट जान्छ।
गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा संयुक्त हवाई हमला गरी त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ।
इरानले पनि इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
यसैबिच इरानका उपस्वास्थ्यमन्त्री अली जाफरियनले इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म १ हजार २५५ जनाको मृत्यु भएको बताएका छन्।
साथै यस अवधिमा १२ हजारभन्दा बढी मानिस घाइते भएका छन्। मारिएकामा मानिसमा ८ महिनाका शिशुदेखि ८८ वर्षका वृद्धसम्म छन्। जसमा २०० महिला छन्।
उनका अनुसार मिनाब प्राथमिक विद्यालयमा भएको आक्रमणमा १६८ बालबालिकाको मृत्यु भएको छ। आक्रमणमा ४ डाक्टर, २ नर्स र ३ आपतकालीन कर्मचारीसहित ११ स्वास्थ्यकर्मीको मृत्यु भएको छ। अनि ५५ स्वास्थ्यकर्मी घाइते भएका छन्।
Shares

प्रतिक्रिया