ग्लोबल


मेक्सिको: प्रेमिकालाई पछ्याउँदै एल मेन्चो मार्न सफल भएको थियो सेना

२० राज्यमा फैलायो हिंसा, ​​२५ सैनिकसहित ३२ जनाको मृत्यु
मेक्सिको: प्रेमिकालाई पछ्याउँदै एल मेन्चो मार्न सफल भएको थियो सेना

एल मेन्चो


नेपालखबर
फागुन १२, २०८२ मंगलबार १५:१८, काठमाडौँ

मेक्सिकोमा सेनाले गरेको कारबाहीमा देशका प्रमुख लागुऔषध तस्कर एल मेन्चोको मृत्यु भएपछि त्यहाँ हिंसा भड्किएको छ।

बीबीसीका अनुसार, मेन्चो मारिएपछि उनका समर्थकले २० राज्यमा तोडफोड र आगजनी गरेका छन्। 

यस क्रममा उनीहरूले सडक अवरोध, सवारी साधन र २० भन्दा बढी सरकारी बैंकमा आगो लगाएका छन्। 

विभिन्न सहरमा गरी अहिलेसम्म कम्तीमा ३२ जनाको मृत्यु भएको छ, जसमा २५ सैनिक पनि छन्।

प्रेमिकाको सहयोगमा समातिएका थिए एल मेन्चो

मेक्सिकोका रक्षामन्त्री रिकार्डो ट्रेभिल्लाका अनुसार, सेनाले मेन्चोलाई लामो समयदेखि पछ्याइरहेको थियो।

यस क्रममा सेनाले मेन्चो बसेको स्थान उनकी प्रेमिकामार्फत पत्ता लगाएको थियो।

ट्रेभिल्लाले प्रेस ब्रिफिङमा बताएअनुसार गुप्तचर एजेन्सीले एल मेन्चोकी प्रेमिकासँग सम्बन्धित एक विश्वसनीय सहयोगीलाई पहिचान गरेका थिए र उनको गतिविधिका निगरानी गरिरहेका थिए।

त्यही मान्छेले एल मेन्चोकी प्रेमिकालाई जलिस्को नजिकैको एउटा कम्पाउन्डमा लगेको थियो र सेना पनि उसलाई पछ्याउँदै कम्पाउन्डसम्म पुग्यो। जब महिला त्यहाँबाट निस्किइन् तब अधिकारीहरू विश्वस्त भए कि एल मेन्चो अझै कडा सुरक्षाबिच कम्पाउन्ड भित्रै छन्। 

यसपछि सुरक्षा बलले तुरुन्तै अपरेसन सुरु गर्‍यो र एक दिनपछि सो क्षेत्रलाई पूरै घेरा हाल्यो।

रक्षामन्त्री ट्रेभिल्लाले भने, ‘घेराबन्दीको क्रममा मेन्चोप्रति वफादार बन्दुकधारीहरूले सेनामाथि गोली हाने। अनि सेनाले जवाफी गोली चलाउँदा मेन्चो घाइते भए। अनि उनका सहयोगी उनलाई लिएर नजिकैको जंगलमा भागे। धेरै प्रयासपछि सैनिकहरूले उनीलाई पत्ता लगाए। घाइते अवस्थामा हेलिकप्टरबाट मेडिकल सेन्टर लाँदै गर्दा मेन्चो र उनका दुई अंगरक्षकको पनि बाटैमा मृत्यु भयो।’

मेन्चो पत्ता लगाउनेलाई १३६ करोडको इनाम घोषणा गरिएको थियो

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, एल मेन्चो जलिस्को न्यु जेनेरेसन कार्टेल (सीजेएनजी) का प्रमुख थिए। कार्टेल मेक्सिकोको सबैभन्दा खतरनाक आपराधिक संगठनमध्ये एक मानिन्छ। 

जलिस्को कार्टेल मेक्सिकोमा लागुपदार्थ उत्पादन गर्ने र बेच्ने, स्थानीय व्यवसायीबाट पैसा असुल्ने र धेरै क्षेत्रमा आतंक फैलाउने कामका लागि कुख्यात छ।

यो कार्टेलको उपस्थिति अमेरिकाका ५० राज्यमा छ।

अमेरिकी सरकारले एल मेन्चो पत्ता लगाउनेलाई १३६ करोडको पुरस्कार दिने घोषणा गरेको थियो।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयदेखि एल मेन्चोविरुद्ध कारबाही गर्न मेक्सिकोलाई दबाब दिइरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad