अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर अहिलेसम्मकै कडा चेतावनी दिँदै विशाल नौसैनिक दस्ता (आर्माडा) खाडी क्षेत्रतर्फ पठाएका छन्। बुधबार सामाजिक सञ्जाल ट्रुथ सोसियलमा एक सन्देश जारी गर्दै ट्रम्पले इरान तत्काल वार्तामा नआए गत जुनको 'अपरेसन मिडनाइट ह्यामर'भन्दा निकै घातक सैन्य कारबाही गर्ने धम्की दिएका हुन्।
'एक विशाल युद्धपोत दस्ता उत्साह र शक्तिका साथ इरानतर्फ अघि बढिरहेको छ,' ट्रम्पले लेखेका छन्, 'समय घर्किसकेको छ। इरान वार्ताको टेबुलमा आएर न्युक्लियर सम्झौता गरोस् भन्ने हाम्रो चाहना छ, अन्यथा उसले इतिहासकै विनाशकारी हमलाको सामना गर्नुपर्नेछ।'
विमानबाहक युद्धपोत 'अब्राहम लिंकन'तैनाथ
अमेरिकी नौसेनाको घातक विमानबाहक युद्धपोत 'युएसएस अब्राहम लिंकन नेतृत्वको स्ट्राइक ग्रुप हिन्द महासागर हुँदै ओमानको खाडी नजिक पुगेको छ। यो दस्तामा ५ हजारभन्दा बढी नौसैनिक र दर्जनौं अत्याधुनिक लडाकू विमानहरू छन्। रोचक तथ्य के छ भने, यो दस्ता अघिल्लो महिना भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिन पठाइएको सैन्य बलभन्दा पनि ठूलो र शक्तिशाली रहेको ह्वाइट हाउसको दाबी छ।
सन् २०२५ जुन २२ मा अमेरिकाले इरानका नतान्ज, फर्दो र इसफाहानस्थित परमाणु केन्द्रहरूमा १२५ भन्दा बढी लडाकू विमान र ७ वटा 'बी-२ स्पिरिट' स्टिल्थ बमवर्षक प्रयोग गरी 'अपरेसन मिडनाइट ह्यामर' चलाएको थियो। उक्त हमलामा पहिलोपटक ३० हजार पाउन्ड वजनको 'जीबीयू-५७' बन्कर बस्टर बम प्रयोग गरिएको थियो। अमेरिकी गुप्तचर निकायका अनुसार पहाडको गहिराइमा रहेका फर्दोका केही संरचना अझै सक्रिय रहेकाले ट्रम्पले यसपटक ती बाँकी केन्द्रलाई निसाना बनाउन खोजेका हुन्।
इरानको जवाफ 'औंला ट्रिगरमा छ'
आन्तरिक विद्रोह र दबाबको राजनीति
इरानभित्र हालैका हप्ताहरूमा आर्थिक संकट र महँगीका विरुद्ध जनविद्रोह चर्किएको छ। मानवअधिकारवादी संस्थाहरूका अनुसार प्रदर्शनका क्रममा हजारौं मारिएका छन् भने करिब ४० हजारभन्दा बढी पक्राउ परेका छन्। विश्लेषकहरूका अनुसार ट्रम्पले बाह्य सैन्य दबाब बढाएर इरानको वर्तमान शासन व्यवस्थालाई भित्रैबाट कमजोर बनाउने र 'रिजिम चेन्ज' (सत्ता परिवर्तन) गराउने रणनीतिक लिएका हुन्।
Shares

प्रतिक्रिया