बेलायती प्रधानमन्त्री किएर स्टार्मर औपचारिक भ्रमणका क्रममा बुधबार चीन पुगेका छन् । प्रधानमन्त्री बनेपछि यो उनको पहिलो चीन भ्रमण हो।
बिहीबार उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम छ।
चीन ओर्लिएलगत्तै सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सन्देश दिँदै स्टार्मरले आफ्नो भ्रमणको उद्देश्य स्पष्ट पारेका छन्।
उनले लेखेका छन्, 'म चीनमा अवतरण गरेको छु। म यहाँ बेलायती जनताको हित र आर्थिक समृद्धिका लागि काम गर्न आएको हुँ ।'
झन्डै ६० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पुगेका स्टार्मरको यो भ्रमणलाई पछिल्लो समय चिसिएको बेलायत–चीन सम्बन्धमा ‘आइसब्रेक’ का रूपमा हेरिएको छ ।
स्टार्मर र सीबीचको वार्ता मुख्यतया व्यापारिक साझेदारी, लगानी प्रवर्द्धन, राष्ट्रिय सुरक्षा र हरित ऊर्जामा केन्द्रित हुने बीबीसीले जनाएको छ।
विशेषगरी हङकङ मुद्दा, साइबर सुरक्षा र जासुसीका आरोपका कारण विगत केही वर्षदेखि दुई देशबीचको कूटनीतिक सम्बन्ध निकै तनावपूर्ण रहँदै आएको थियो ।
सन् २०१८ पछि बेलायती प्रधानमन्त्रीको चीन भ्रमण भएको थिएन। तत्कालीन प्रधानमन्त्री थेरेसा मेको भ्रमणपछि कोभिड–१९ र भूराजनीतिक द्वन्द्वका कारण दुई मुलुकबीच उच्चस्तरीय संवाद ठप्प प्रायः थियो। स्टार्मर सरकारले अब ‘प्रग्यामेटिक’ अर्थात् व्यावहारिक कूटनीति अपनाउँदै चीनसँगको आर्थिक सम्बन्धलाई पुनर्जीवन दिन चाहेको छ।
बेलायतले चीनलाई एकातर्फ ठूलो व्यापारिक साझेदार र अर्कातर्फ सुरक्षा चुनौतीका रूपमा लिँदै आएको छ। यो भ्रमणले बेलायती बजारमा चिनियाँ लगानी भित्र्याउने ढोका खोल्न सक्छ।
Shares

प्रतिक्रिया