भारतले बिहीबार राजधानी नयाँ दिल्लीमा पहिलोपटक ‘क्लाउड सिडिङ’ परीक्षण सञ्चालन गरेको छ। यो अभियानको उद्देश्य वायुमण्डलमा रहेको घातक धुवाँ र कणलाई वर्षाका माध्यमबाट हटाउने तथा सहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउनु हो।
क्लाउड सिडिङ भन्नाले वर्षा उत्प्रेरित गर्न विमानमार्फत नुन वा अरू रासायनिक पदार्थ बादलमा ‘फायर’ गर्ने प्रक्रिया हो। यसरी कृत्रिम रूपमा वर्षा गराई वायुमण्डलीय प्रदूषणलाई कम गर्ने उद्देश्यले यो प्रविधि विश्वका केही मुलुकले पहिले नै प्रयोग गर्दै आएका छन्।
नयाँ दिल्लीका अधिकारीहरूले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) कानपुरसँगको सहकार्यमा सहरको उत्तरी क्षेत्र बुराडीमा सेस्ना हल्का विमान प्रयोग गरी बिहीबार दिउँसो परीक्षण सुरु गरेका हुन्।
दिल्लीका मन्त्री मञ्जिन्दर सिंह सिरसाले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'आज क्लाउड सिडिङको परीक्षण उडान सम्पन्न गरिएको छ, जसमा फ्लेयर्स प्रयोग गरी बादलमा रासायनिक कण फायर गरियो।'
उनका अनुसार, उक्त उडानमार्फत विमानको क्षमताको मूल्यांकन, उपकरणको सहनशीलता, समन्वय संयन्त्र र क्लाउड सिडिङका निम्ति आवश्यक तयारीको प्रमाणीकरण गरिएको हो।
दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, 'यदि, मौसम अनुकूल रह्यो भने दिल्लीले अक्टोबर २९ मा पहिलो कृत्रिम वर्षा अनुभव गर्नेछ।'
उनले यो परियोजना दिल्लीवासीका निम्ति ‘स्वच्छ हावा फिर्ता ल्याउने महत्त्वपूर्ण कदम’ भएको बताइन्। तर, परीक्षणमा कुन रसायन प्रयोग गरिएको थियो भन्ने जानकारी तत्काल सार्वजनिक गरिएको छैन।
तीन करोडभन्दा बढी जनसंख्या भएको नयाँ दिल्लीलाई संसारकै सबैभन्दा प्रदूषित राजधानीमध्ये एक मानिन्छ। प्रत्येक जाडोमा सहर बाक्लो धुवाँले ढाकिन्छ। चिसो हावाले प्रदूषक तत्त्वलाई जमिनको नजिक थुनेर बाली जलाउने, उद्योग धुवाँ र ट्राफिकको उत्सर्जनसँग मिसिएर घातक प्रदूषणको मिश्रण बनाउँछ।
रगतमा प्रवेश गर्न सक्ने सानो आकारको हुने र क्यान्सर समेत उत्पन्न गर्न सक्ने ए : २.५ नामक सूक्ष्म कण कहिलेकाहीँ संयुक्त राष्ट्रसंघको दैनिक स्वास्थ्य सीमाभन्दा ६० गुणासम्म बढी पाइन्छ।
दीपावली पर्वको आतसबाजीपछि यो हप्ताको प्रदूषणस्तर झनै बढेको छ। ए : २.५ को मात्रा सीमाभन्दा ५६ गुणा बढी पुगेको निगरानी संस्था आईक्यू एयरले जनाएको छ।
यो वृद्धि सर्वोच्च अदालतले यसअघि नै पूर्ण प्रतिबन्ध हटाएर ‘हरियो पटाका’ अर्थात् कम प्रदूषण गर्ने आतसबाजीलाई अनुमति दिएको निर्णयपछि आएको हो।
बिहीबार बिहान मात्र नयाँ दिल्लीका केही क्षेत्रमा ए : २.५ को स्तर १५४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको थियो। यो विश्व स्वास्थ्य संगठनको सिफारिसभन्दा १० गुणा बढी हो।
सेप्टेम्बरमा गरिएको एक अध्ययनमा दिल्लीको ऐतिहासिक लालकिल्ला समेत प्रदूषणका कारण कालो हुँदै गएको निष्कर्ष निकालिएको थियो। भारतीय र इटालियन वैज्ञानिकको संयुक्त टोलीले हेरिटेज जर्नलमा प्रकाशित अध्ययनमा युनेस्को विश्वसम्पदास्थल लालकिल्ला निरन्तर कालो क्रस्टले ढाकिँदै क्षय हुँदै गएको चेतावनी दिएको छ।
खडेरी कम गर्न, डढेलो नियन्त्रणमा त कहिले हवाई यातायातमा कुहिरो हटाउन सन् १९४० को दशकमा विकास गरिएको क्लाउड सिडिङ प्रविधि दशकौँदेखि विभिन्न देशले प्रयोग गर्दै आएका छन्। चीनले सन् २००८ को ओलम्पिकका बेला बेइजिङमा वर्षा रोक्न यही प्रविधिको प्रयोग गरेको थियो।
तर, वैज्ञानिकबीच यो प्रविधिको प्रभावकारितामा मतभेद छ। केही अनुसन्धानमा क्लाउड सिडिङले अपेक्षित परिणाम नदिने र लक्षित क्षेत्रबाहेक अन्यत्र अप्रत्याशित असर पर्ने देखिएको छ। त्यसैले दिल्लीको यो प्रयास सफल हुनेछ वा छैन भन्ने विषयमा वैज्ञानिक मूल्यांकन अझै बाँकी छ। रासस/एएफपी
Shares

प्रतिक्रिया