बेलायतको उत्तरमा अवस्थित स्कटल्याण्डको सुन्दर सहर डण्डी ‘सूर्योदयको सहर’को रुपमा प्रख्यात छ। पत्रकारितका लागि ख्याति कमाएको यो सहरबाटै वायरलेस रेडियोको सुरुवात भएको हो। सुनौलो इतिहास भएको डण्डी सहर यतिबेला पहिला झैँ छैन। अस्पतालहरु कोरोना बिरामीले भरिएका छन्। र कोरोना कहरले निम्त्याएका मृत्यु स्वीकार्न बिरामी विवश छन्।
यही शहरमा अवस्थित युरोपकै ख्यातिप्राप्त नाइनवेल्स अस्पतालमा कन्सल्टेन्ट फिजिसियन हुन्, नेपाली डाक्टर चन्द्र पौडेल। अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारमा खट्दाखट्दै उनी आफैँ संक्रमित भए। पछि परिवार सबै सदस्यलाई यो नौलो रोगले समायो।
नेपालको स्याङ्जा आहालेमा जन्मेर नवलपरासी बसाई सरेका डा.पौडेल करिब १६ वर्ष अघि बेलायत आएका हुन्। यो अवधिमा उनी निरन्तर नेपाल आउजाउ गरे, दुवैतिरका बिरामीको सेवामा रहे। यो लामो यात्रामा कयौँ उतारचढाव भए। हालैको कोरोना संक्रमणले भने उनी झस्किएका छन्। १६ दिनसम्म जीवनमरणको पीडा सामना गरेका उनी अहिले स्वस्थ भइसकेका छन्। पुनः बिरामी सेवामा फर्किसकेका छन्। भन्छन्, ‘डाक्टरी पेशामा लागेपछि बिरामीको सेवा गर्नु धर्म हो। बिरामीका कारण मलाई आफ्नो पेशाप्रति अझ बढी जिम्मेवार हुन हौसला पनि मिलेको छ।’
करिब तीन हप्ता अघि कोरोनाले गलाउँदाको सम्झँदा उनको मस्तिष्कमा ताजै छ। ‘म कामबाट घर फर्किंदै थिएँ। एक्कासि जाडो भएजस्तो महसुस भयो। घाँटी र जिउ पनि दुखेजस्तो भयो। यति हुँदासम्म मैले गम्भीर रुपमा लिएको थिइनँ तर राती १२ बजेपछि कामज्वरो आउन थाल्यो’, उनी सुनाउँछन्। त्यसपछि उनी ड्युटीमा अस्पताल गएनन्। घरमै आइसोलेसनमा आराम गरे। ‘दुई तीन दिनसम्म उच्च ज्वरो आउने, जिउ दुख्ने र घाँटी दुख्ने समस्या भइरह्यो ‘त्यतिबेला नियमित सिटामोल खाएँ’, उनी भन्छन् ।
शरीरमा देखिएको परिवर्तन हेर्दा उनलाई कोरोना संक्रमाणको शंका लाग्न थालेको थियो। चार दिनपछि खोकी लाग्न शुरु भएपछि भने उनी निष्कर्षमा पुगे, ‘अब कारोना परीक्षण नै गर्नुपर्छ।’ पाँचौं दिन परीक्षणका लागि अस्पताल जाँदा परीक्षण रिपोर्ट पोजिटिभ देखियो। उनको शंका पुष्टि भयो। रोगले सिकिस्त हुँदा कस्तो हुने रहेछ? डाक्टर पौडेलको अनुभव छ, ‘एउटा अचम्मको कुरा ज्यादै फरक खालको गन्ध आउँथ्यो र पछि स्वादमा पनि ह्रास आयो। यो रोग सामान्य फ्लुभन्दा फरक भएको महसुस गरेँ। उच्च ज्वरो र जिउ दुखाइले गर्दा यसले थकाउँदो रहेछ।’
कोरोनाको हुँदैन एउटै मात्र लक्षण
अस्पतालमा आएका बिरामीहरुमा कतिमा लक्षण नदेखिने तर कारोना संक्रमण जाँच गर्दा पोजिटिभ भेटिएको उनी सुनाउँछन्। सबैलाई एकै प्रकारको लक्षण नहुने हुनाले पनि यो रोगबारे केही भनिहाल्न गाह्रो हुने उनको बुझाइ छ।
कोरोना संक्रमण इटलीमा महामारी भएदेखि नै उनले यो रोगबाट बच्न सतर्कता अपनाउन थालेका थिए। सरसफाईमा विशेष सर्तकता अपनाउथे। भन्छन्, ‘सफाईमा हामी बढी नै सजग थियौं। अस्पतालमा पनि सतर्कता अपनाउथेँ, घर फर्केपछि लगाएका सबै लुगा धुन राखरे, नुहाउन पसीहाल्थेँ। घरको सरसफाईमा पनि कुनै कमी थिएन। घरमा बच्चाहरुसँग दूरी कायम गर्थें तर यति गदागर्दै पनि खोइ कसरी मलाई यो रोग लाग्यो।’
अस्पतालमा उनको जिम्मेवारी छ बिरामीको उपचार गर्ने। ‘यो रोग महामारीको रुपमा फैलिरहेको अवस्थामा अस्पतालमा बिरामीको उपचारमा खट्ने चिकित्सक, नर्स र पहिलो पंत्तिमा रहेर काम गर्नेहरु ठूलो जोखिममा हुनु स्वभाविक हो, त्यसैले पनि मलाई संक्रमण भएको हुनसक्छ’, उनी भन्छन्।
कोरोना संक्रमण भएको थाहा पाएपछि उनले हरेस नखाई आफूलाई प्रोत्साहित गर्ने र विभिन्न तरिकाले आफ्नो ख्याल गरेको सुनाए। भन्छन्, ‘मैले आइसोलेसमा रहेर पुरै आराम गरेँ। नियमित तातोपानीको बाफ लिएँ। सुप, पानी लगायत पेय पर्दाथ धेरै खाएँ। त्यसले मलाई धेरै मद्दत गर्यो।’
उनी आफैँ डाक्टर भएकाले पनि मेडिकल कोणबाट कसरी हेरचाह गर्ने उनलाई राम्रो जानकारी थियो। रोगले साह्रै गाह्रो बनाए पनि उनले आफूलाई सम्हाली रहे। तर जब परिवारमा एकपछि अर्को गर्दै सबै बिरामी पर्नथाले। त्यसपछिको अवस्था फरक बन्यो।
जीवन संगिनी र अन्तमा दुवै छोराहरुलाई पनि कारोना संक्रमण देखियो। परिवार नै संक्रमित भएपछि भने उनलाई असैह्य पीडा महसुस भयो। ‘म त्यतिबेला ज्यादै भावुक भएँ। परिवारमा सबै बिरामी भएपछि भने ज्यादै नरमाइलो लाग्यो’, उनी सुनाउँछन्।
दुवै छोराहरुलाई ज्वोरो र खोकी लागेको दुई—तीन दिनमा सन्चो भयो। ‘बच्चहरुलाई कम असर गर्यो। श्रीमती सुनितालाई तीन दिन जति यो रोगले नराम्ररी गलायो। उनलाई अझै पनि राम्ररी ठीक भएको छैन। अझै थकित र आलस्य बनाइरहेछ’, उनी सुनाउँछन्।
फेरि बिरामीकै सेवामा
कोरोना महामारीको यो समयमा उपचारमा खटिने चिकित्सकलाई उनी योद्धा सिपाहीसँग तुलना गर्न रुचाउँछन्। यति ठूलो रोग सामना गरेपछि अस्पताल जाँदा डर लागेन? भन्छन्, ‘डाक्टरी पेशामा लागेपछि बिरामीको सेवा गर्नु मेरो धर्म हो। एउटा घाइते सिपाही झैँ अलिकति निको भएर युद्धमा फर्केको महसुुुस गरिरहेछु।’
कोरोना कारण यतिबेला अस्पतालमा पनि बिरामीको चाप धेरै छ। बिरामी बढी हुनुको अर्थ चिकित्सकको खाँचो हुनु पनि हो। चिकित्सक सेवाले जीवन र मृत्युको दोसाँधमा रहेकाहरुलाई झन् विशेष अर्थ राख्छ। ‘यस्तो अवस्थामा काममै फर्किनु पर्छ भन्ने लाग्यो । आफूले केही गर्न सक्यो भने बिरामीलाई राहत हुन्छ नि। त्यसले दिने सन्तुष्टि छुट्टै हुन्छ’, उनी सुनाउँछन् ।
कस्तो छ त अस्पतालको अवस्था? ‘अस्पतालमा कारोना बिरामीको चाप निकै बढेको छ। धेरै डाक्टर, नर्स र कर्मचारीहरु पनि बिरामी परेका छन्। त्यसले गर्दा अस्पतालको अवस्था भयावह छ’, उनी सुनाउँछन्।
कोरोना अनुभवी डा.पौडेलको सल्लाह छ ज्वरो, खोकी आउँदैमा आत्तिनु पर्दैन। ‘ज्वरो आउँदैमा, खोकी लाग्दैन आतिनु हुँदैन। र अस्पताल गइहाल्नु पनि पर्दैन। यो अवस्थामा घरमै बसेर आफ्नो उपचार गर्नुपर्छ तर ५ दिन पछि पनि ज्वोरो कम भएन भने डाक्टरको सल्लाह लिनुपर्छ। र सास फेर्न गाह्रो भए तत्काल इमरजेन्सीमा फोन गरेर अस्पताल जानुुपर्छ’, उनी भन्छन्।
आफू सञ्चो हुनमा परिवार, आफन्त र साथीभाइको प्रेम र सद्भाव महत्वपूर्ण रहेको उनी सुनाउँछन्। ‘नेपालमा रहनु भएका आमाबुवाहरु र आफन्त निकै आत्तिनु भएको थियो, त्यो स्वभाविकै पनि हो। उहाँहरुको स्नेहले हाम्रो रिकभरीमा निकै बल पुग्यो’, उनी भन्छन्।
कोरोनाबाट विश्वभरि रहेका नेपाली पीडित छन्। उनको सल्लाह छ, ‘अरुलाई कोरोना छ कि भनेर सोच्ने भन्दा म आफैँलाई छ कि अरुलाई सर्छ कि भनेर सोचाैं। सामाजिक रुपमा उत्तरदायी बनौं। लक्षण नदेखिए पनि सामाजिक दूरी कायम गरौं। जो आइसोलेसना छन् उनीहरुलाई सहयोग गर्यौं, माया र सद्भाव राखौं। अनि सावधानी अपनाउने र सरसफाईमा ध्यान दिने हो भने यो संक्रमणमा निकै कमी आउँछ।’
सकारात्मक सोच र स्वअनुशासनले कोरोना पराजित गर्न सहयोग पुग्ने उनको अनुभव छ। ‘हामी अनुशासित बनौं। आफ्नो मनलाई दह्रो बनाएर सकरात्मक सोच राखौं। यसले यो रोगलाई पराजित गर्न सहयोग पुग्नेछ।’
प्रतिक्रिया