पोल्यान्डको राष्ट्रपतिमा दुई कार्यकाल (१० वर्ष) पूरा गरेका पोल्यान्डका पूर्वराष्ट्रपति आन्द्रेज डुडाले युट्युबमा कार्यक्रम प्रस्तोताको काम गर्ने भएका छन्।
गएको अगस्ट ६ मा वर्तमान राष्ट्रपति कारोल नवोरोस्कीले पदभार ग्रहण गरेपछि व्यक्तिगत जीवनमा फर्केका उनी पोल्यान्डको प्रख्यात युट्युब च्यानल कानाउ जिरोमा कार्यक्रम प्रस्तोताको रूपमा देखिने भएका हुन्।
कानाउ जिरोका संस्थापक पत्रकार क्रिस्टोफ स्टानोवस्कीले आफ्नो सामाजिक सञ्जाल एक्समा उक्त कुराको पुष्टि गरेका छन्। स्टानोवस्कीका अनुसार डुडाले १६ एपिसोडमा काम गर्नेछन्। समसामयिक विषयमा छलफल, राष्ट्रपति हुँदाका सम्झना तथा अन्य महत्त्वपूर्ण अन्तर्वार्ताहरू डुडाले प्रस्तुत गर्ने बताइएको छ।

स्टानोवस्की तिनै हुन् जसले गत जुनमा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा डुडाको उत्तराधिकारीका रूपमा प्रतिस्पर्धा गर्दै १.२४ प्रतिशत मतका साथ आठौँ स्थान प्राप्त गरेका थिए।
आगामी सेप्टेम्बर १५ मा प्रिमियर हुने भनिएको कार्यक्रमको नाम भने गोप्य राखिएको छ।
पोल्यान्डका राष्ट्रपतिहरू पद छोडेपछि प्राय: सक्रिय राजनीतिबाट बिदा हुने परम्परा छ। तर, ५३ वर्षीय डुडाले अग्रपंक्तिको राजनीतिबाट अलग्गिए पनि आफू अहिले नै पूर्ण अवकाश नलिने बताएका छन्। उनी सम्बद्ध पोल्यान्डको दक्षिणपन्थी पार्टीलाई थप सशक्त बनाउन उनी पुन: सक्रिय हुनसक्ने आँकलन गरिएको छ।
Shares

प्रतिक्रिया