पाकिस्तानमा चालु मनसुनमा हालसम्म बाढी र पहिरोमा परी ६७० जनाको मृत्यु भएको छ भने ९० जनाजति बेपत्ता भएका छन्।
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अध्यक्ष लेफ्टिनेन्ट जनरल इनाम हैदरले भने, ‘मनसुन अवधिमा विभिन्न घटनामा अहिलेसम्म करिब ६७० जनाको मृत्यु भएको छ भने हजारभन्दा बढी घाइते भएका छन्।’
उनले थपे, ‘८० देखि ९० जना अझै बेपत्ता छन्। यदि उनीहरूलाई चाँडै फेला पारिएन भने उनीहरूलाई पनि मृतकको सूचीमा समावेश गर्नुपर्नेछ।’
उनका अनुसार, मनसुनी वर्षा अगस्ट २३ सम्म जारी रहने अनुमान गरिएको छ।
उनले चेतावनी दिए, ‘प्रकोपका घटना अझ बढी हुन सक्छन्।’
अगस्ट २३ देखि महिनाको अन्त्यसम्म र सेप्टेम्बरको पहिलो दस दिन मनसुनको थप दुई चरण हुने सम्भावना गरिएको छ।
उनले भने, ‘सेप्टेम्बर १० पछि स्थिति बिस्तारै सुधार हुन थाल्नेछ र सेप्टेम्बरको अन्त्यसम्ममा सामान्य हुनेछ।’
Shares

प्रतिक्रिया