भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशका किसानको हितविरुद्ध कहिल्यै सम्झौता नगर्ने वाचा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध भन्सार शुल्क थपेर ५० प्रतिशत पुर्याएको भोलिपल्ट मोदीले यस्तो बताएका हुन्।
बुधबार ट्रम्पले रुसी तेल किनेको भन्दै सजायस्वरुप २० प्रतिशत भन्सार महसुल थप्ने घोषणा गरेका थिए। जुन २१ दिनपछि लागू हुने उनको भनाइ छ।
बिहीबार नयाँ दिल्लीमा कृषिसम्बन्धी एक सम्मेलनलाई सम्बोधन गरेका मोदीले अमेरिकी करबारे सिधै त केही भनेनन्।
तर, उनले भने, ‘किसान, पशुपालक र मछुवाराहरूको हितमा म कहिल्यै सम्झौता गर्ने छैन। मलाई थाहा छ, व्यक्तिगत रुपमा मैले ठूलो मूल्य चुकाउनुपर्नेछ। तर, म त्यसका लागि तयार छु।’
रुसी तेल खरिदबारे पनि उनले केही भनेनन्। यसैबारे छलफल गर्न भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल मस्कोमा छन्।
ट्रम्पको सबैभन्दा उच्च कर बेहोर्ने मुलुकमा अब भारत पनि परेको छ। जुन ठाउँमा यसअघि ब्राजिल थियो।
ब्राजिलका राष्ट्रपति लुइज इनासिया लुला दा सिलभाले अमेरिकी करको ब्रिक्स मुलुकले संयुक्त रुपमा कसरी जवाफ दिने भनेर छलफल गर्न मोदीसँग बिहीबार फोनमा कुरा गर्ने बताएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया