रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका विदेशमन्त्री अब्बास अरागचीबीच सोमबार (जुन २३ तारिख) मस्कोमा भेटवार्ता भएको छ।
इजरायलसँग लडिरहेको इरानमा अमेरिकाले समेत आक्रमण गरेका बेला पुटिन र अरागचीबीच छलफल भएको हो।

अमेरिकाले इरानका आणविक केन्द्रहरूमा हमला गरेको एकदिनपछि इरानी विदेशमन्त्री रुस पुगेका हुन्।
उनीसँग भेटका क्रममा रुसका राष्ट्रपति पुटिनले इरानमा अमेरिकी आक्रमणको निन्दा गरेका छन्।
पुटिन र अरागचीबीचको भेटवार्ता रुसको सरकारी टीभी च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो।
रुसका राष्ट्रपतिले भने, ‘यो इरानविरुद्ध पूर्णतया अनावश्यक आक्रमण हो, जसका कुनै आधार वा औचित्य छैन।’
पुटिनले इरानी विदेशमन्त्रीसँगको भेटलाई ‘जटिल मुद्दामा छलफल गर्ने र वर्तमान परिस्थितिबाट बाहिर निस्कने बाटो खोज्न सँगै सोच्ने अवसर’ भने।
रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार, पुटिनले रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै भनेका छन्, इजरायल-इरान द्वन्द्वमा रुसको अडान स्पष्ट छ।’
इरानको आणविक स्थलमा अमेरिकाको हमलापछि रुसको विदेश मन्त्रालयले भनेको थियो, ‘रुसले इरानका धेरै आणविक पूर्वाधारमा अमेरिकी आक्रमणको कडा निन्दा गर्दछ। हामी यो आक्रमण तत्काल अन्त्य गर्न र स्थितिलाई शान्तिपूर्ण र कूटनीतिक बाटोमा ल्याउन प्रयास तीव्र पार्न आह्वान गर्दछौँ।’
सोमबार इरानका विदेशमन्त्रीसँगको भेटमा पुटिनले भने, ‘इरानसँग हाम्रो लामो समयदेखि राम्रो र विश्वासिलो सम्बन्ध छ। हामी इरानी जनतालाई मद्दत गर्न प्रयास गरिरहेका छौँ।’
इरानका विदेशमन्त्रीले भने, ‘रुससँग हाम्रो देशको सम्बन्ध ‘धेरै नजिक र मैत्रीपूर्ण’ छ, जसले अब ‘रणनीतिक रूप’ लिएको छ।’
यस क्रममा इजरायल र अमेरिकाले इरानमा गरेको आक्रमण ‘अन्तर्राष्ट्रिय नियम र मापदण्डको उल्लंघन’ भएको पनि बताए।
Shares

प्रतिक्रिया