ग्लोबल


हसिनालाई भारतबाट बोल्न नदिन आफूले गरेको अनुरोध मोदीले नसुनेको युनुसको गुनासो

हसिनालाई भारतबाट बोल्न नदिन आफूले गरेको अनुरोध मोदीले नसुनेको युनुसको गुनासो

फाइल तस्बिर: मोदी र युनुस


नेपालखबर
जेठ २९, २०८२ बिहिबार ८:४४, काठमाडौँ

बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना पूर्वप्रधामन्त्री शेख हसिनालाई त्यहाँबाट राजनीतिक वक्तव्य दिन नदिन गरेको अनुरोध बेवास्ता गरेको गुनासो गरेका छन्।  

फाइल तस्बिर : शेख हसिना

बुधबार लन्डनको चथम हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै युनुसले गत अप्रिलमा बैंककमा भएको बिमस्टेक शिखर सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री मोदीलाई शेख हसिनालाई भारतीय भूमिबाट राजनीतिक अभिव्यक्ति दिनबाट रोक्न अपिल गरेको तर त्यो सुनुवाइ नभएको बताएका हुन्। 

हाल भारतमा लुकेर बसेकी हसिनाले बंगलादेशको राजनीतिबारे बेलाबेला वक्तव्य दिने गरेकी छन्।

मोहम्मद युनुसले भने, ‘हामी भारतसँग धेरै राम्रो सम्बन्ध राख्न चाहन्छौँ। ऊ हाम्रो छिमेकी हो। हामी भारतसँग कुनै समस्या चाहँदैनौँ तर भारतीय प्रेसको नक्कली समाचारका कारण कुनै न कुनै समस्या सधैँ भइरहन्छ।’

उनले अगाडि भने, ‘यसले बंगलादेशलाई आशंकित र क्रोधित बनाउँछ। हामी यसलाई धेरै नियन्त्रण गर्ने प्रयास गर्छौं तर साइबर स्पेसमा धेरै कुरा भइरहन्छन् र हामी यसबाट टाढा रहन सक्दैनौँ।’

यस क्रममा युनुसले हसिनालाई भारतबाट बंगलादेश सुपुर्दगी गर्ने प्रयास जारी रहने पनि बताए। 

सरकारी जागिरमा आरक्षणविरुद्ध विद्यार्थीहरूले गरेको आन्दोलनले उग्र रूप लिएपछि १६ वर्षदेखिको सत्ता छाड्दै बंगलादेशबाट भागेकी ७७ वर्षीया हसिना गत वर्ष अगस्ट ५ देखि भारतको शरणमा छिन्। 

हसिनाविरुद्ध बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) मा विभिन्न मुद्दा चलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad