कुवेतमा कार्यरत नेपाली श्रमिकहरूबीच ‘श्रमिक सचेतना’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ।
नेपाली राजदूतावास कुवेतको आयोजनामा कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक वैदेशिक रोजगारीका बहुआयामिक पक्षहरुको जानकारी प्रदान गर्ने उद्धेश्यले सो कार्यक्रम गरिएको हो।
राजदूतावासले कुवेत सिटीस्थित कोष्टाडेल सोल होटलको सभाहलमा कुवेतको श्रम बजार, सुरक्षित रोजगारी तथा वित्तीय सचेतनाको सम्बन्धमा ‘श्रमिक सचेतना’ विषयक अन्तरकृया कार्यक्रम आयोजना गरेको दूतावासले जनाएको छ।
कार्यक्रमका सहभागीहरूले उठाएको विविध विषयहरुको समग्र सम्बोधन गर्दै राजदूत घनश्याम लम्सालले कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई राजदूतावासबाट प्रदान गरिने विभिन्न सेवाहरू राजदूतावासले प्राथमिकताका साथ सरल, शीघ्र एवं प्रभावकारी ढंगबाट प्रवाह गर्दै आएको बताए।
सो अवसरमा राजदूत लम्सालले नेपाली श्रमिकहरूको प्रतिनिधिहरू तथा श्रमिकहरूसँग छलफल गरी गुनासोहरू सुन्ने र समस्याको समाधान गर्न राजदूतावास सदैव तयार रहेको बताए।
सो अवसरमा उपस्थित सहभागीहरूसँग राजदूतावासको सेवा प्रवाह, यसमा देखिएका कठिनाईहरु, समाधानको उपाय तथा कुवेतमा रोजगारीको अवसरका सम्बन्धमा विविध जिज्ञासाहरुको बारेमा समेत विस्तृत रुपमा छलफल भएको थियो।
अन्तरक्रिया कार्यक्रममा उपनियोग प्रमुख तथा काउन्सेलर सुजनी रानाले कुवेतमा राजदूतावासले प्रदान गर्ने राहदानी सेवा, प्रमाणीकरण सेवा, यात्रा अनुमति पत्र, श्रमिकहरुले गर्न हुने र नहुने कुराहरु, विप्रेषण साक्षरता, सामाजिक सञ्जालको संयमित प्रयोग लगायत श्रमिकहरुका लागि उपयोगी अन्य जानकारीहरुका सम्बन्धमा प्रस्तुतीकरण गरेकी थिइन्।
यसैगरी श्रम सहचारी गिरीप्रसाद आचार्यले सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता, टेलिमेडिसिन सेवा, वैदेशिक रोजगार बोर्डबाट श्रमिकहरुलाई प्रदान गरिने सुविधाहरू लगायत श्रमका विविध विषय समेटिएको प्रस्तुतीकरण गरेका थिए।
सो कार्यक्रममा गैर आवासीय नेपाली संघ कुवेतका प्रतिनिधिहरु, यहाँस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय पत्रकारहरू एवं राजनीतिक दलका भातृसंगठनका प्रतिनिधिहरु लगायतको सहभागिता रहेकोमा कार्यक्रमको सञ्चालन राजदूतावासका प्रथम सचिव सुजन विडारीले गरेका थिए।
Shares

प्रतिक्रिया