डोनाल्ड ट्रम्पले सी चिनफिङलाई ‘सौदा गर्न साह्रै अप्ठ्यारो’ व्यक्तिका रूपमा चित्रित गरेका छन्।
गत महिना जेनेभामा दुई मुलुकले व्यापार युद्धमा विराम लगाउने सम्झौता गरेका थिए। तर, चीन र अमेरिकाले एकअर्कामाथि सो सम्झौता तोडेको आरोप लगाइरहँदा ट्रम्पले यस्तो बताएका हुन्।
‘म चिनियाँ राष्ट्रपति सीलाई मन पराउँछु, सधैँ मन पराइरहनेछु। तर, उनी साह्रै कठोर छन्। र, उनीसँग सौदा गर्न साह्रै मुस्किल छ,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।
गत साता अमेरिकाले दुर्लभ खनिज निर्यात फुकुवा नगरेको आरोप चीनमाथि लगाएको थियो।
अर्कोतिर, अमेरिकाले जेनेभामा भएको व्यापार सम्झौता उल्लंघन गरेको चीनको आरोप छ। अमेरिकाले हालै सेमिकन्डक्टर बनाउन प्रयोग हुने सफ्टवेयरमा चीनको पहुँचमा समेत प्रतिबन्ध लगाएको छ भने विदेशमन्त्री मार्को रुबियोले चिनियाँ विद्यार्थीहरूको भिसा आक्रामक रूपमा रद्द गरिने बताएका छन्।
यसले दुई मुलुकबीचको सम्बन्धलाई थप जटिलतातर्फ धकेल्ने आकलन गरिएको छ। एजेन्सी
Shares

प्रतिक्रिया