ग्लोबल


सीपीआई प्रमुख बसवराजु मारिएसँगै प्रश्न: यो भारतमा माओवाद अन्त्यको सुरुवात हो?

सीपीआई प्रमुख बसवराजु मारिएसँगै प्रश्न: यो भारतमा माओवाद अन्त्यको सुरुवात हो?

नम्बल्ला केशव राव उर्फ ​​बसवराजुको यो तस्बिर उनको कलेज दिनको हो।


नेपालखबर
जेठ १२, २०८२ सोमबार १७:२८, काठमाडौँ

‘हामीलाई के थाहा छ भने भारतीय सरकारलाई उखेलेर फाल्नु सजिलो काम होइन। जनयुद्धमा निर्णायक शक्ति प्रविधि होइन, जनता हुन्। शत्रुको आधुनिक प्रविधि या त नष्ट हुनेछ या जनताको बाढीमा निष्क्रिय हुनेछ।’

२०१२ अगस्ट १३ मा सीपीआई अर्थात् भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य तथा केन्द्रीय सैन्य आयोगका इन्चार्ज नम्बल्ला केशव राव उर्फ ​​बसवराजुले आधुनिक प्रविधिबारे प्रश्नमा माथिको उत्तर दिँदै थिए।

त्यसको झन्डै १३ वर्षपछि प्रविधिकै सहयोगमा भारतीय सुरक्षा बलले बसवराजुको सही ठेगाना पत्ता लगायो। 

आधुनिक प्रविधि भनेको माओवादीविरुद्ध उपग्रह, जीपीएस र यूएभीको प्रयोग थियो। बसवराजुले जवाफ दिँदा उनले कल्पना पनि गरेका थिएनन् होला कि यो आधुनिक प्रविधिले उनको ज्यान लिनेछ। 

यस प्रश्न-उत्तरको पूर्ण विवरण अगस्ट २०१२ मा ओडिसाबाट प्रकाशित माओवादी पत्रिका जन संग्राममा छ। 

गत बुधबार (जेठ ७ गते) भारतका गृहमन्त्री अमित शाहले माओवादी प्रभावित नारायणपुरमा भएको मुठभेडमा सीपीआई (माओवादी) प्रमुख नम्बल्ला केशव राव उर्फ ​​बसवराजुलाई मारिएको दाबी गरे।

सीपीआई (माओवादी) का शीर्ष नेता बसवराजुलाई दुई सर्कलमा लगभग चार दर्जन मानिसले सुरक्षा प्रदान गरेका थिए। उनीहरूसम्म पुग्न सजिलो थिएन।

के पनि दाबी गरिएको छ भने कहिलेकाहीँ बसवराजुलाई बचाउन उनका वरिपरि तीन किलोमिटरसम्म बारुदी सुरुङ बिछ्याइएको थियो।

तर बसवराजुको मृत्युपछि फरक-फरक दाबी गरिँदै छ। 

बसवराजुको पैतृक घर (श्रीकाकुलम)

छत्तीसगढका एक वरिष्ठ प्रहरी अधिकारीले नाम नखुलाउने सर्तमा भने, ‘प्रहरीले उनका एक साथी नक्सलवादीको सेलफोन निगरानी गर्‍यो। जीपीएसको मद्दतले हाम्रा सैनिकले भारतको सबैभन्दा खतरनाक माओवादी बसवराजु र उनका साथीहरूको ठेगाना पत्ता लगाए। त्यसपछि जे भयो त्यो सबैको अगाडि छ।’

यद्यपि अर्का प्रहरी अधिकारीको दाबी छ, ‘यस स्थानका आधारमा डीआरजीका चार टोलीले तीन दिनदेखि बसवराजुलाई खोजिरहेका थिए। एउटा टोलीले मंगलबार राति केवल १ किलोमिटर टाढा माओवादीहरूको समूहले क्याम्प बनाएको पहाडको टुप्पोमा बितायो। बिहान माओवादीहरूले डीआरजीका एक सहकर्मीमाथि गोली चलाउँदा मुठभेड सुरु भयो।’

बसवराजुको मृत्युपछि छत्तीसगढमा सबैभन्दा चर्चा गरिएको प्रश्न हो: यो भारतमा माओवादको अन्त्यको सुरुवात हो?

राज्यका मुख्यमन्त्री विष्णु देव साईले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै यसलाई ठूलो उपलब्धि भने। 

बसवराजुलाई नक्सलवादी आन्दोलनको मेरुदण्डको रूपमा वर्णन गर्दै राज्यका मुख्यमन्त्री विष्णु देव साईले भने, ‘बसवराजुको टाउकोको मूल्य तीन करोड तोकिएको थियो। तीन दशकमा यो पहिलोपटक हो- महासचिव दर्जाको माओवादीलाई निष्क्रिय पारिएको। यो ठूलो सफलता हो र यसले निश्चित रूपमा नक्सलवादलाई ठूलो धक्का दिएको छ। नक्सलवादको मेरुदण्ड भाँचिएको छ।’

१९७५ मा पनि मारिएका थिए नक्सलवादी संगठनका अर्का महासचिव

सुव्रत दत्त
तर माओवादी संगठनसँग सम्बन्धित शीर्ष नेतृत्व स्तरको व्यक्ति मारिएको यो पहिलोपटक होइन।

कोलकातामा जन्मेका र दिल्लीमा हुर्केका सुव्रत दत्त उर्फ ​​जौहर ती युवामध्ये एक थिए- जसले चारु मजुमदारको आह्वानमा आफ्नो जागिर छाडेर सशस्त्र आन्दोलनको बाटो रोजे।

​​जौहलाई नक्सलवादी संगठन सीपीआई-एमएलमा बंगाल-बिहार फ्रन्टियर क्षेत्रीय समितिको जिम्मेवारी दिइएको थियो। यस क्रममा २८ जुलाई १९७२ मा नक्सलवादी आन्दोलनका संस्थापकमध्ये एक चारु मजुमदार प्रहरी हिरासतमा मारिए। यसपछि नक्सल संगठनले आफूलाई कायम राख्न र सुरक्षित राख्न ठूलो चुनौतीको सामना गर्नुपर्‍यो। 

यो त्यतिबेलाको कुरा हो, जतिबेला बंगाल र अन्य राज्यमा प्रहरी मुठभेडमा ठूलो संख्यामा नक्सलवादी मारिएका थिए।

नक्सलवादी कागजातहरूले देखाउँछन्- जौहरले बंगाल र छोटानागपुरका क्षेत्रमा निरन्तर संगठन विस्तार गरे। यही कारण उनी २८ जुलाई १९७४ मा केन्द्रीय समितिको पुनर्गठनका क्रममा नक्सलवादी संगठन सीपीआई-एमएलको महासचिव चुनिए। 

१६ महिनापछि १९७५ नोभेम्बर २९ मा बिहारस्थित भोजपुरको बाबु बाँध क्षेत्रमा प्रहरीले मुठभेडमा उनी मारिएको दाबी गर्‍यो।

त्यो घटना भएको झन्डै ५० वर्ष भइसक्यो। त्यसबेलादेखि अहिलेसम्म नक्सलवादी संगठनको नाम मात्र होइन, यसको सम्पूर्ण रूप नै परिवर्तन भइसकेको छ।

तर हिंसा नक्सली संगठनको स्थायी पहिचान रह्यो।

कागजातहरूले खुलासा गर्छन्- ५० वर्षअघि जौहरको मृत्यु हुँदा पनि अब के हुन्छ भन्ने प्रश्न उठेको थियो।

तर त्यतिबेलाका प्रश्न र उत्तर निश्चित रूपमा फरक थिए।

आज, 'सबैभन्दा ठूलो आन्तरिक चुनौती' घोषित नक्सलवादी आन्दोलनले सामना गरिरहेका प्रश्न उस्तै हुन सक्छन्, तर उत्तर धेरै फरक भएका छन्।

'२०२६ मार्च ३१ अघि माओवाद समाप्त हुनेछ'

भारतका गृहमन्त्री अमित शाह

छत्तीसगढका प्रहरी महानिर्देशक अरुण देव गौतम गृहमन्त्री अमित शाहले तोकेको समय सीमा २०२६ मार्च ३१ अघि नै देशबाट माओवाद अन्त्य हुने विश्वास गर्छन्। 

जेएनयूबाट अन्तर्राष्ट्रिय कानुनमा एमफिल गरेका १९९२ ब्याचका आईपीएस अधिकारी गौतमले भने, ‘मेरो विचारमा शीर्ष नेतृत्वको निष्क्रियतापछि आन्दोलन विघटन हुन धेरै समय लाग्दैन। वर्षौंको दौडानमा सुरक्षा बलले धेरै क्षति बेहोरेका छन्। यस क्षेत्रका निर्दोष नागरिकहरूले आफ्ना सन्तानको बलिदान दिएका छन्। आज सम्पूर्ण देशका लागि धेरै महत्त्वपूर्ण दिन हो।"

अरुण देव गौतमको दाबी छ- पछिल्ला केही वर्षमा सुरक्षा बलले बस्तरका ती सबै क्षेत्र नियन्त्रणमा लिएको छ, जुन लगभग सुरक्षाविहीन थिए।

गौतमका अनुसार, ‘अब धेरै कम क्षेत्र बाँकी छ, जसलाई पूर्ण रूपमा कब्जा गरेर हामी यो जमिनबाट माओवादलाई पूर्ण रूपमा सिध्याउने प्रयास गर्नेछौँ। केन्द्रीय गृहमन्त्रीले हामीलाई दिएको समयसीमा अघि नै माओवाद समाप्त हुनेछ। यो हाम्रो संकल्प हो र यो हाम्रो आशा पनि हो।’

विचारधारा बच्ने विश्वास

बस्तरमा माओवादीले गराएको विस्फोटको एक तस्बिर।

रमेश उर्फ ​​बदरन्ना के विश्वास गर्छन् भने शीर्ष नेतृत्वको अन्त्यले संगठन विघटन होला तर माओवाद कहिल्यै समाप्त हुनेछैन।

उनी माओवादी आन्दोलन त्याग्दै सन् २००० मा आत्मसमर्पण गरेका व्यक्ति हुन्।

१९८७ मा १५ वर्षको उमेरमा नक्सल आन्दोलनमा सामेल भएका बदरन्नाले पहिलोपटक बसवराजुको हातमा एके-४७ देखेका थिए।

त्यसपछि बसवराजुलाई यस क्षेत्रमा गंगाअन्नाको नामले चिनिन्थ्यो।

बदरन्ना भन्छन्, ‘कुनै ठूला नेता बाँचे भने संगठनको पुन: विकास हुने सम्भावना हुन्छ। त्यसैले नेता मारिनु ठूलो क्षति हो। पुरानो दिनमा जस्तै पार्टीका शीर्ष नेताहरू सँगै बैठक गर्ने स्थितिमा पनि छैनन्। यस्तो अवस्थामा पार्टीलाई पक्कै असर पर्नेछ।’

बदरन्ना माओवाद एउटा विचारधारा भएको उल्लेख गर्दै यो कहिल्यै समाप्त नहुने विश्वास गर्छन्। बीबीसी हिन्दीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad