भारतले पहलगाम आतंकवादी हमलाको बदला लिइने बताएपछि त्यो कस्तो होला भन्ने जिज्ञासा दुई सातासम्म कायम रह्यो। मंगलाबार राति भारतले पाकिस्तानका नौ स्थानमा क्षेप्यास्त्र हमला गरेसँगै सो जिज्ञासा समाधान भइसकेको छ।
यो आक्रमणमा पाकिस्तानमा ३१ जनाको मारिएको बताइएको छ भने पाकिस्तानले गोलबारी गर्दा भारततर्फ १५ जनाको ज्यान गएको छ। त्यसमाथि पाकिस्तानले भारतीय विमान पनि खसाएको दाबी पनि गरेको छ।
यसले दुवैलाई जित दाबी गर्ने मौका दिएको छ। तर, के यी दुई देश त्यो मौका सदुपयोग गर्दै युद्धबाट पछि हट्लान्? यतिबेलाको प्रमुख प्रश्न यही हो।
भारतले केही दशकयता पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीहरूभन्दा अलग यसपालि विवादित कस्मिरमा मात्र होइन, अन्तर्राष्ट्रिय सीमा पार गरेर पाकिस्तानको भित्री भागमै आक्रमण गरेको छ। आतंकवादी मसुद अजहरको परिवारमाथि आक्रमण गरेको हुनाले भारतले सहज जित दाबी गर्न सक्छ। बिहीबारका भारतीय पत्रिकाहरूमा पहलगामको सानदार बदलाका रूपमा यो घटनालाई चित्रित गरिएको छ।
तर, यो काम भारतले बिनाक्षति गर्न सकेन। पाकिस्तानले भारतीय सीमाभित्रै दुई वा तीनवटा विमान खसाएको बताइँदैछ।
खासमा २०१९ मा पाकिस्तानविरुद्धको सैन्य कारबाहीपछि भारत यही किसिमको क्षतिबाट बच्न चाहन्थ्यो।
पाकिस्तानी सेनाले यसैलाई जित दाबी गर्छ या उसले पनि भारतभित्रै आक्रमण नगरी चित्त बुझाउँदैन? यही कुराले दुई आणविक छिमेकीबीचको द्वन्द्व चर्किन्छ कि थामिन्छ भन्ने निर्धारण गर्नेछ।
तत्काललाई पाकिस्तानी पक्षले सबै विकल्प खुला रहेको बताएको छ। तर, केही कूटनीतिज्ञ र विश्लेषकहरूले दुवै पक्षले जितको दाबी गर्ने मौका पाएकाले यो पूर्ण युद्धमा नबदलिने आशा व्यक्त गरेका छन्।
आशा जगाउने अर्को पक्ष के हो भने दुवै पक्षले पर्दापछाडि संवाद सुरु गरेका छन्। पाकिस्तानका विदेशमन्त्रीले एउटा च्यानललाई राष्ट्रिय सुरक्षा सल्लाहकार तहमा ‘केही अन्तर्क्रिया’ भएको जानकारी दिएका छन्।
उता कतारी प्रधानमन्त्रीले पनि दुवै पक्षसँग फोनमा वार्ता गरेका छन्।
अब के होला भन्ने कुरा दुई देशले आफ्ना जनतालाई सन्तुष्ट तुल्याउन सक्छन् कि सक्दैनन् भन्नेमा निर्भर रहने विश्लेषकहरूको भनाइ छ।
भारतका विपक्षी सांसद शशि थरुर भारतीय कारबाही एकदमै नापजोख गरेर गरिएको र यो लामो युद्ध छेड्नका लागि नभई एकपटकको हमला भएको बताउँछन्।
‘पाकिस्तानले भारतीय विमान खसाएको पुष्टि भारतले गरेको छैन। तर, यदि त्यो साँचो हो भने पाकिस्तानीहरूले सजिलै आफ्नो इज्जत जोगिएको दाबी गर्न सक्छन्,’ थरुरको भनाइ न्युयोर्क टाइम्सले उधृत गरेको छ।
पाकिस्तानका लागि पनि यतिबेला युद्ध टार्नु अनिवार्य छ। आर्थिक संकटसँग जुधिरहेको उसका लागि युद्ध घातक हुन सक्छ।
त्यसमाथि भारतभित्र आक्रमण गर्न पाकिस्तानका लागि सहज छैन। किनकि पाकिस्तानमा जस्तो आतंकवादी गतिविधिसँग जोडिएका निसाना भारतमा छैन। एउटा विकल्प सैन्य ठेगानामा आक्रमण गर्नु हो। तर, त्यसले लडाइँ सुरु गराउने खतरा रहन्छ।
पाकिस्तानका पूर्व राष्ट्रिय सल्लाहकार मोइद युसुफ पाकिस्तानको अन्तर्राष्ट्रिय सीमाभित्र पसेर आक्रमण गर्न सक्दैनौ भनेर भारतलाई सन्देश दिन जरुरी रहेको बताउँछन्।
‘पाकिस्तानको निर्णयकर्ताहरूमाझ भारतीय विमान खसाउनु पर्याप्त छ कि छैन भनेर बहस चलिरहेको छ,’ उनी भन्छन्, ‘विकल्प खुला राखिएको छ। बल अझै भारतकै कोर्टमा छ।’
अवकाशप्राप्त जर्नेल मुहम्मद सइद तनाव कम गर्न दुई पक्षलाई अन्तर्राष्ट्रिय समुदायको सहयोग चाहिने बताउँछन्।
तर, बिहीबार भारतले पाकिस्तानस्थित हवाइ प्रतिरक्षा प्रणालीमा आक्रमण गरिएको घोषणा गरेको छ। भारतभित्रका सैन्य ठेगानाहरुमा पाकिस्तानले आक्रमणको कोसिस गरेपछि सो कदम चालिएको भारतको दाबी छ। एजेन्सी
Shares

प्रतिक्रिया