क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीले जित हासिल गरेको छ।
यो जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध टिप्पणी गरेका छन्।
बीबीसीका अनुसार प्रधानमन्त्री कार्नीले भने, ‘राष्ट्रपति ट्रम्पले हामीलाई टुक्राउन खोजिरहेका छन् ताकि अमेरिकाले हामीमाथि प्रभुत्व जमाउन सकोस्, त्यो कहिल्यै हुनेछैन।’
उनले थपेका छन्, ‘अमेरिकासँगको हाम्रो पुरानो सम्बन्ध अब समाप्त भएको छ। हामीले अमेरिकी विश्वासघातको आघात पार गरेका छौँ, हामीले एकअर्काको ख्याल राख्नुपर्छ।’
ट्रम्पले लगातार क्यानडालाई व्यापार युद्धको धम्की मात्र दिइरहेका छैनन्, क्यानडालाई अमेरिकाकै ५१औँ राज्य बन्न दबाब दिइरहेका छन्।
यही चुनाव भइरहँदा पनि सोमबार ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म सोसल ट्रुथमा लेखेका थिए, ‘एउटा यस्तो नेता छान्नुहोस् जसले तपाईंको कर आधा घटाउन सकोस्, तपाईंको सेनालाई संसारको सबैभन्दा शक्तिशाली बनाउन सकोस् र तपाईंका कार, स्टिल, आल्मुनियम, काठ, ऊर्जा र अन्य सबै व्यवसायलाई कुनै कर वा शुल्कबिना नै चार गुणा बढाउन सकोस्।’
उनले अगाडि लेखेका थिए, ‘यदि क्यानडा अमेरिकी राज्य बनेन भने अमेरिकाले हरेक वर्ष क्यानडालाई सयौँ अर्ब डलरको सहायता दिन क्रम जारी राख्ने छैन।’
क्यानडाको चुनावमा लिबरल पार्टीको जित भएको भनिए पनि ३४३ सदस्यीय संसद्मा उसले कति सिट जित्यो भन्ने विषयमा भने विस्तृत जानकारी बीबीसीले दिएको छैन।
यसअघिको संसद्मा पनि लिबरल पार्टी १ सय ५३ सिटसहित सबैभन्दा ठूलो दल थियो।
भर्खर सकिएको चुनावमा प्रधानमन्त्री पदका लागि उम्मेदवारहरूमा लिबरल पार्टीका मार्क कार्नीसहित कन्जरभेटिभ पार्टीका पियरे पोइलिभ्रे, ब्लक क्वेबेकोइस पार्टीका ब्लान्चेट र एनडीपी पार्टीका नेता जगमित सिंह उम्मेदवार बनेका थिए।
गत महिना मात्र लिबरल पार्टीको नेतामा निर्वाचित भएपछि पूर्वबैंकर मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बनेका थिए। तर लगत्तै उनले चुनाव गराउन परेको हो।
गत जनवरीमा तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेताबाट राजीनामा दिएदेखि नै क्यानडाका धेरै नेताले मतदानको माग गरिरहेका थिए।
क्यानडामा मतदाताहरूले प्रधानमन्त्रीलाई प्रत्यक्ष मतदान गर्दैनन्। उनीहरूले संसद् सदस्यहरूलाई मतदान गर्छन्।
Shares

प्रतिक्रिया