ग्लोबल


आईपीयू दिगो विकास स्थायी समितिमा पहिलोपटक नेपाल, अञ्जान शाक्य विजयी

आईपीयू दिगो विकास स्थायी समितिमा पहिलोपटक नेपाल, अञ्जान शाक्य विजयी

नेपालखबर
चैत २४, २०८१ आइतबार ९:२२, काठमाडौँ

अन्तर-व्यवस्थापिका संघ (आईपीयू) को दिगो विकास स्थायी समितिमा नेपाल पहिलोपटक सामेल हुन सफल भएको छ।

राष्ट्रिय सभा सदस्य डाक्टर अञ्जान शाक्य आईपीयूको दिगो विकास स्थायी समिति सदस्यमा एसिया-प्रशान्त क्षेत्रका तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै विजयी भएकी हुन्। 

उज्बेकिस्तानको राजधानी ताश्केन्टमा भएको सम्मेलनमा माल्दिभ्स र इरानका दुई उम्मेदवारलाई पछि पार्दै शाक्य निर्वाचित भएकी हुन्। 

सभामुख देवराज घिमिरेसहितको टोली अहिले उज्बेकिस्तानमै छ।

सभामुख घिमिरेले दिगो विकासको क्षेत्रमा गहिरो अनुभव हासिल गरेकी शाक्यलाई समर्थन गर्न भनी आईपीयूको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई पत्र पठाएका थिए। 

सभामुख घिमिरे र सांसद डाक्टर शाक्यसहितको प्रतिनिधि मण्डल अन्तर-व्यवस्थापिका संघको १५०औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन उज्बेकिस्तानको राजधानी ताश्केन्ट पुगेको हो।

शाक्यले त्यहाँ दिगो विकास स्थायी समितिमा एसिया-प्रशान्त क्षेत्रका तर्फबाट उम्मेदवारी दिएकी थिइन्। यो मञ्चमा पहिलोपटक उपस्थिति जनाएको नेपाल पहिलो प्रयासमै सफल भएको हो। 

शाक्यले आफ्नो जितसँगै यसले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पनि बढाउन सहयाेग पुर्‍याएको महसुस गरेको बताएकी छन्। 

‘सभामुखज्यूले पत्र लेखेर नै मेरो समर्थनका लागि आग्रह गर्नुभएको थियो,’ शाक्यले भनिन्, ‘मैले पनि व्यक्तिगत रूपमा मेरो समर्थनका लागि आग्रह गरेको थिएँ। हामी सबैको प्रयासले सफलता प्राप्त भयो।’

शाक्यले सकारात्मक पहलका लागि प्रधानमन्त्री, सभामुख, संसद् सचिवालयकाे अन्तर्राष्ट्रिय महाशाखालगायतलाई पनि धन्यवाद दिइन्।

सांसद शाक्य राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजक हुन्।

उनकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन-२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ।

उनी संयोजक रहेको उपसमितिले पटकपटक विभिन्न मन्त्रालय, सरोकारवाला निकाय र नीजि क्षेत्रसँग छलफल गरी उक्त प्रतिवेदन तयार गरेको थियो। समितिको नाम यसअघि दिगो विकास र सुशासन समिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad