रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेलत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग लामो फोन वार्ता गरे।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेखेअनुसार वार्ताको उद्देश्य युक्रेन र रुसलाई "उनीहरूको अनुरोध र आवश्यकताअनुसार’ एकजुट गराउनु हो।
साथै उनले युद्धविरामका प्रयास सही दिशामा अघि बढिरहेको पनि उल्लेख गरेका छन्।
उता जेलेन्स्कीले ट्रम्पसँगको कुराकानीलाई 'सकारात्मक', 'खुला' र 'धेरै गहिरो' भनेका छन्।
‘हामी विश्वास गर्छौं कि यस वर्ष संयुक्त राज्य अमेरिका र राष्ट्रपति ट्रम्पका साथ दिगो शान्ति प्राप्त गर्न सकिन्छ’, जेलेन्स्कीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्।
बुधबार एक अनलाइन ब्रिफिङमा जेलेन्स्कीले आफू र ट्रम्पले रुसको कब्जामा रहेको जापोरिज्जिया पावर प्लान्टको सम्भावित अमेरिकी स्वामित्वबारे छलफल भएको बताए।
साथै जेलेन्स्कीले रुसले युद्धविरामका सर्तहरू उल्लंघन गरे युक्रेनले बदला लिने चेतावनी पनि दिए।
‘मलाई लाग्छ जबसम्म हामी (रुससँग) सहमत हुँदैनौँ, आंशिक युद्धविरामको दस्तावेज पनि हुँदैन, सबै कुरा जारी रहनेछ’, उनले ड्रोन र मिसाइलका सन्दर्भमा भने।
Shares

प्रतिक्रिया