इजरायली सेनाले गाजामा ठूलो सैन्य कारबाही गरिरहेको बताएको छ।
अहिलेसम्म आक्रमणमा कम्तीमा ३३० प्यालेस्टिनी मारिएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आईडीएफले हमासका ‘आतंकवादी लुक्ने ठाउँ’लाई लक्ष्य गरी हमला गरिरहेको बताएको छ। यस आक्रमणमा हमासका शीर्ष सुरक्षा अधिकारी महमुद अबु वफाह पनि मारिएको दाबी गरिएको छ।
जनवरी १९ मा युद्धविराम सुरु भएयता गाजामा यो सबैभन्दा ठूलो हवाई आक्रमण हो। गाजामा युद्धविराम लम्ब्याउने वार्ता सहमतिमा पुग्न नसकिरहेका बेला उक्त हमला भएको हो।
स्थानीयका अनुसार गाजामा विस्फोट सुरु हुँदा मानिसहरू रमजानको पवित्र महिनाको व्रतमा थिए।
हमास र इजरायलबीच भएको सम्झौताअनुसार गत जनवरी १९ देखि लागू युद्धविरामको पहिलो चरण मार्च ३० रातिबाट सकिएको थियो। त्यसपछि अमेरिकी प्रस्तावमा इजरायल युद्धविराम ६ हप्ता लम्ब्याउन सहमत भए पनि हमासले अस्वीकार गरेको थियो।
युद्धविराम अवधिमा हमासले २५ जना जीवित र ८ जनाको शव इजरायललाई फिर्ता गरेको छ भने बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ।
पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव हमासले अस्वीकार गरेपछि इजरायलले गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा प्रतिबन्ध लगाएको थियो।
त्यसयता इजरायलले अहिले गाजामा पुन: आक्रमण थालेको हो।
हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेको थियो। जसमा परी १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।
जवाफमा इजरायलले गाजा पट्टीमा गरेको आक्रमणबाट यसअघिसम्म कम्तीमा ४८ हजार ३६५ जनाको मृत्यु भएको हमासको भनाइ छ।
त्यसमा अहिले ३३० जना थपिएका छन्।
Shares

प्रतिक्रिया