ग्लोबल


पुटिनको खेल: ट्रम्पका दूतलाई ८ घण्टा कुराएर आधारातमा भेटे, मागपत्र थमाएर पठाए

पुटिनको खेल: ट्रम्पका दूतलाई ८ घण्टा कुराएर आधारातमा भेटे, मागपत्र थमाएर पठाए

नेपालखबर
चैत १, २०८१ शुक्रबार १९:१९,

डोनाल्ड ट्रम्पले अस्थायी युद्धविरामको प्रस्तावसहित मस्को पठाएका विशेष दूत स्टिभ विट्कोफ रुसी राजधानीमा लामो समय बसेनन्। फर्केको समय हेर्दा उनी मस्कोमा १२ घण्टाभन्दा अलिकति अधिक समय मात्र रहे।

त्यो बसाइको पनि अधिकांश हिस्सा उनले प्रतीक्षामा बिताए।

पहिले रियल स्टेट लगानीकर्ता रहेका विट्कोफ अहिले ट्रम्पका विशेष दूत बनेका छन्। उनैलाई ३० दिने युद्धविरामको प्रस्ताव बोकेर ट्रम्पले भ्लादिमिर पुटिनसँग भेट्न पठाएका थिए।

साउदी अरबमा अमेरिका र युक्रेनबीच वार्तालगत्तै यो साताको सुरुमै उनी रुस जाने कार्यक्रम तय भएको थियो।

तर, बिहीबार दिउँसो मस्को पुगेका उनले पुटिनसँग भेट्नुअघि करिब ८ घण्टा प्रतीक्षा गर्नुपर्‍यो।

किनकि पुटिन व्यस्त थिए। बेलारुसी नेता अलेक्सान्द्र लुकासेन्कोसँगको भेटमा। लुकासेन्कोको राजकीय भ्रमण भने अचानक आयोजना गरिएको थियो। अघिल्लो दिन मात्रै भ्रमणको घोषणा गरिएको थियो।

पुटिनले हत्तपत्त लुकासेन्कोलाई निम्त्याएर शक्तिको खेल खेलेको विश्लेषण कतिपयले गरेका छन्। उनको भ्रमणको समयलाई हेर्दा त्यो संयोग मात्र लाग्दैन। 

पुटिन कसैले आफूलाई कुनामा पारेर यसो वा उसो गर्न भनेको मन पराउँदैनन्। खासगरी आफ्नै घरमा।

त्यसैले यो घटना उनले अमेरिकीहरूलाई दिएको सन्देश जस्तो लाग्छ– यहाँ मालिक म हुँ। समयतालिका म तय गर्छु। अरुको तालिकामा म बाँधिन्नँ।

अन्ततः उनले विट्कोफका लागि अत्यन्त महत्त्वपूर्ण भेट दिए। तर, रात परेपछि मात्र। त्यो पनि बन्द ढोकाभित्र। 

ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ

उनीहरूबीच कति लामो कुरा भयो, हामीलाई थाहा छैन। उनीहरूबीच केके कुरा भयो, त्यो पनि थाहा छैन। तर, सो भेटअघि लुकासेन्कोसँगको पत्रकार सम्मेलनमा उनको अभिव्यक्तिलाई लिएर केही अनुमान गर्न सकिन्छ।

पुटिनले पत्रकार सम्मेलनमा आफूले बदलामा केही पाए मात्रै युद्धविराममा हस्ताक्षर गर्ने स्पष्ट पारिसकेका छन्। र, उनी एउटा कुरा मात्र चाहँदैनन्।

उनको कुरा सुन्दा उनी सबथोक चाहन्छन्। उनले ‘द्वन्द्वको वास्तविक कारण’को समाधान चाहेका छन्। त्यो भनेको युक्रेनले नेटोको सदस्यता नपाउने, शान्ति सैनिकका रूपमा नेटोका सैनिकहरू युक्रेन जान नपाउने र रुसले कब्जा गरेको भूमिलाई मान्यता दिनुपर्ने कुरा हुन्।

रुसी सञ्चारमाध्यमका अनुसार पुटिन र विट्कोफको भेट राति साढे १ बजे टुंगिएको थियो। 

त्यसको आधा घण्टापछि विट्कोफ विमानस्थलमा देखिए। पुटिनको सहमति होइन, मागको सूची बोकेर उनी फर्किएको प्रतीत हुन्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad