ग्लोबल


अमेरिकाबाट भारत आउन उडेको एयर इन्डियाको विमान आधा बाटो आइसकेपछि फर्कियो

अमेरिकाबाट भारत आउन उडेको एयर इन्डियाको विमान आधा बाटो आइसकेपछि फर्कियो

नेपालखबर
फागुन २४, २०८१ शनिबार ८:३२, काठमाडौँ

तपाईं एउटा देशबाट अर्को देश जान हवाईजहाज चढ्नुभयो। तर ८-१० घण्टा उडिसकेपछि फेरि पहिलेकै ठाउँमा फर्काइयो भने कस्तो लाग्ला?

यस्तै भएको छ- अमेरिकाको शिकागोबाट भारतको नयाँ दिल्ली आउन एयर इन्डियाको जहाज चढेका यात्रुहरूलाई पनि। 

सञ्चारमाध्यमका अनुसार बिहीबार एयर इन्डियाको बोइङ ७७७-३३७ ईआर विमान अमेरिकाको शिकागोस्थित ओआरडी विमानस्थलबाट दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल आउन यात्रु लिएर उडेको थियो। तर झन्डै आधा बाटो पुगिसकेपछि विमान शिकागो नै फर्काइयो।

एयरलाइन्सले असुविधाका लागि माफी माग्दै उडानमा प्राविधिक समस्याका कारण फिर्ता हुनुपरेको बताएको छ।

तर समाचार एजेन्सी पीटीआईले एयरलाइन्स स्रोतलाई उद्धृत गर्दै विमानका शौचालय जाम भएका कारण फर्कनुपरेको उल्लेख गरेको छ।

उडान फिर्ता भएपछि टिकट रद्द गर्ने सबै यात्रुलाई पूर्ण रकम फिर्ता दिने एयरलाइन्सले बताएको छ।

पीटीआईको रिपोर्टअनुसार, विमान आधा बाटो उडिसकेपछि शिकागो विमानस्थलमा फर्किएको हो। विमान उडानदेखि अवतरणसम्म झन्डै १० घण्टा आकाशमा रह्यो। 

रिपोर्टमा भनिएको छ- यो बोइङ विमानमा ३४० सिट छन्, जुन फर्स्ट क्लास, बिजिनेस क्लास र इकोनोमी क्लासमा विभाजित छन्। विमानमा ३४० यात्रुका लागि १० वटा शौचालय छन्, जसमध्ये २ वटा फर्स्ट क्लासका यात्रुका लागि छन्। स्रोतका अनुसार विमानका ९ वटा शौचालय बाटोमा जाम भए। जसले गर्दा यात्रुका लागि एउटा शौचालय मात्र काममा आयो। यस कारणले गर्दा विमानका पाइलटले उडानलाई शिकागो विमानस्थलमा फर्काउने निर्णय गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad