साउदी अरेबियाले शुक्रबार युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलबीच पश्चिमी बन्दरगाह सहर जेद्दाहमा अर्को हप्ता बैठक हुने पुष्टि गरेको छ।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट विज्ञप्तिमा साउदी विदेश मन्त्रालयले आगामी बैठकको मिति र विषयवस्तु निर्दिष्ट नगरी युक्रेनी संकट अन्त्य गर्न तथा दिगो शान्ति प्राप्त गर्न राज्यको निरन्तर प्रयास उल्लेख गरेको छ।
यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै किभमा रहेको यूएनएन समाचार एजेन्सीले युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलले अर्को हप्ता साउदी अरेबियामा शान्ति वार्ताका लागि भेट्ने अपेक्षा गरेको बताएको थियो।
‘सोमबार, म युवराज (मोहम्मद बिन सलमान) सँग भेट्न साउदी अरेबियाको यात्रा गर्नेछु। त्यसपछि मेरो टोली हाम्रा अमेरिकी साझेदारहरूसँग वार्ता गर्न साउदी अरेबियामा रहनेछ’, जेलेन्स्कीले भने।
उनले शान्ति कायम गर्न र द्वन्द्व समाधानका लागि काम गर्न किभ प्रतिबद्ध रहेको पनि बताए। उनले शान्तिका लागि अमेरिका र युरोपेली साझेदारहरूसँग समन्वय गर्न युक्रेन तत्पर रहेको उल्लेख गरे।
बिहीबार मध्य पूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफले सम्भावित शान्ति सम्झौताबारे छलफल गर्न मार्च ११ मा साउदी अरेबियामा युक्रेनी प्रतिनिधिमण्डललाई भेट्ने पत्रकारहरूलाई बताएका थिए।
फागुन १६ गते ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्को बहस भएको थियो।
त्यसयता दुई देशबीच मनमुटाव बढेको थियो। यस क्रममा अमेरिकाले युक्रेनलाई सैन्य सहयोग गुप्तचर जानकारी दिन पनि बन्द गरेको छ।
तर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले घटनाप्रति दु:ख व्यक्त गर्दै देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन्।
विटकफले बिहीबार ट्रम्पले जेलेन्स्कीबाट ‘माफी’ र ‘कृतज्ञता’ सहितको पत्र प्राप्त गरेको बताएका छन्।
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गर्यो र अहिले युक्रेनी भूभागको लगभग २० प्रतिशत नियन्त्रणमा लिएको छ।
Shares

प्रतिक्रिया