ग्लोबल


अमेरिकाले बन्द गर्‍यो युक्रेनसँग गुप्तचर जानकारी आदानप्रदान

अमेरिकाले बन्द गर्‍यो युक्रेनसँग गुप्तचर जानकारी आदानप्रदान

फागुन १६ गते ह्वाइट हाउसमा विवाद गरेका बेला जेलेन्स्की र ट्रम्प


नेपालखबर
फागुन २२, २०८१ बिहिबार ८:१, काठमाडौँ

अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी साझा गर्न बन्द गरेको छ।

बीबीसीका अनुसार यो कुरा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले बुधबार पुष्टि गरेका हुन्।

गुप्तचर जानकारी आदानप्रदानमा रोक लगाइएकोबारेमा सोध्दा वाल्ट्जले पत्रकारहरूलाई भने, ‘हामी एक कदम पछि हटेका छौँ।’

उनले ट्रम्प प्रशासनले युक्रेनसँगको सम्बन्धका सबै पक्षमा विचार गरिरहेको बताएका छन्।

सन् २०२२ मा रुसको पूर्ण-स्तरीय आक्रमणको प्रारम्भिक चरणदेखि नै अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी साझा गरिरहेको थियो।

तर गुप्तचर जानकारी साझा गर्ने प्रतिबन्ध आंशिक हो वा पूर्ण र यो कति समयसम्म प्रभावकारी रहनेछ भन्ने कुरा अझै स्पष्ट छैन।

यसैबीच फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अर्को हप्ता पेरिसमा युरोपेली सेना प्रमुखहरूको बैठक गर्ने घोषणा गरेका छन्। 

टेलिभिजनमा सम्बोधन गर्दै उनले फ्रान्स अमेरिकी सहयोगबिना अगाडि बढ्न तयार हुनुपर्ने बताएका छन्। 

फागुन १६ (फेब्रुअरी २८) खनिज सम्झौता गर्न भनेर ह्वाइट हाउस पुगेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकाका राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग बाझेर बाहिरिएका थिए।  

त्यसयता अमेरिका र युक्रेनबीच मनमुटाव बढेको हो। अमेरिकाले रुससँग लड्न युक्रेनलाई यसअघि गरिररहेको सहयोग पनि फागुन २० (मार्च ४) देखि बन्द गरिसकेको छ। 

उता युक्रेनी राष्ट्रपति जेलेनेस्कीले भने ह्वाइट हाउसमा भएको विवादमा पछुतो मान्दै अमेरिकासँग जुनसुकै बेला खनिज तथा सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताइसकेका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad