ग्लोबल


ट्रम्प र भान्स चर्किएपछि जेलेन्स्कीले भने: ठूलो स्वरमा बोल्न बन्द गर्नुस्

यसरी तनावपूर्ण बन्यो ह्वाइट हाउस वार्ता
ट्रम्प र भान्स चर्किएपछि जेलेन्स्कीले भने: ठूलो स्वरमा बोल्न बन्द गर्नुस्

नेपालखबर
फागुन १७, २०८१ शनिबार १०:५२, काठमाडौँ

अमेरिकासँग खनिज सम्झौताका लागि भनेर शुक्रबार ह्वाइट हाउस पुगेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भेटवार्ता चर्को विवादबीच ट‌ुंगिएको छ। 

वार्ताका क्रममा जेलेन्स्कीले ट्रम्पलाई भने, ‘हाम्रो भूमिमा आएको हत्यारासँग सम्झौता नगर्नु न।'

उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई इंगित गरेर त्यसो भनेका थिए। तर ट्रम्प युद्धविरामका लागि युक्रेनले अलिकति झुक्नुपर्ने मान्यतामा थिए। 

यसैकारण उनले भने, ‘कुनै पनि सम्झौताको लागि अलिकति मेलमिलापपूर्ण दृष्टिकोण अपनाउनुपर्छ। मानिसहरूले सोचेजस्तो तपाईंले त्यति झुक्नु पर्दैन।’

सम्भावित रुस-युक्रेन वार्ताबारेमा ट्रम्पले थपे, "म बीचमा छु। म युक्रेन र रुस दुवैका पक्षमा छु। म यो (रुस-युक्रेन युद्ध) समाधान भएको हेर्न चाहन्छु।

ट्रम्पले शान्ति सम्झौताका लागि अमेरिका तटस्थ रहनु महत्त्वपूर्ण भएको तर्क गरे। 

ट्रम्पले पुटिनको सिधै आलोचना नगर्ने आफ्नो अडानको बचाउ गर्दै भने, ‘मैले कसैप्रति झुकाव राखेको छैन। म अमेरिका र विश्वका लागि जे राम्रो छ, त्यसका पक्षमा छु।'

भिडिओ-

विवाद त्यतिबेला सुरु भयो जब ट्रम्पले जेलेन्स्कीलाई अमेरिकाको सहयोगका लागि आभारी हुनुपर्छ भने।

यस क्रममा ट्रम्पले भने, ‘तपाईं लाखौँ मानिसको जीवनसँग खेल्दै हुनुहुन्छ। तपाईं तेस्रो विश्वयुद्धको जोखिममा हुनुहुन्छ। अनि तपाईं जे गर्दै हुनुहुन्छ, त्यो यो देश (अमेरिका) का लागि ठूलो अपमान हो।”

ट्रम्प र उपराष्ट्रपति जेडी भान्स दुवैले जेलेन्स्कीसँग चर्को बहस गरे।

त्यसपछि जेलेन्स्कीले भने, 'ठूलो स्वरमा बोल्न बन्द गर्नुहोस्।'

अनि भान्सले भने, ‘युद्ध अन्त्य गर्न कूटनीति आवश्यक छ। तपाईं ओभल अफिसको अनादर गर्दै हुनुहुन्छ। यसले तनावलाई अझ बढायो।'

भान्सको बचाउ गर्दै ट्रम्पले थपे, ‘हामीले तपाईंलाई ३५० अर्ब डलर बराबरका हतियार र सैन्य उपकरण दियौँ। तपाईंसँग हाम्रा हतियार नभएका भए यो युद्ध दुई हप्तामै समाप्त भइसक्थ्यो।'

जेलेन्स्कीले तुरुन्तै व्यंग्यात्मक रूपमा जवाफ दिँदै भने, ‘हो, हो यो युद्ध दुई/तीन दिन पनि टिक्दैन। मैले पुटिनबाट पनि यही कुरा सुनेको छु।'

दुवै पक्षबीचको यस्तो वादविवाद देखेर त्यहाँ उपस्थित पत्रकारहरू छक्क परे। अमेरिकाका लागि युक्रेनी राजदूत पनि आफ्नो अगाडि के भइरहेको छ भनेर सोच्दै टाउको समातेर बसेका थिए।

यो चर्को बहस पछि, ट्रम्पले भने, ‘यसरी काम गर्न गाह्रो हुन्छ।'

यसमा भान्सले फेरि एकपटक मध्यस्थता गर्न खोजे। 

उनले भने, ‘हामीबीच असहमतिहरू छन्, तपाईं गलत हुनुहुन्छ। अनि यस्तो अवस्थामा अमेरिकी मिडियाका अगाडि झगडा गर्नुको सट्टा हामीले ती असहमतिबारे कुरा गर्नुपर्छ।'

उनीहरूबीच विवादले विश्वभर तरंग सिर्जना गरेको छ। यसमा विभिन्न देशका नेताले टिप्पणी गरिरहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad