युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्पलाई जवाफ दिँदै आफ्नो मुलुक बेच्न नसक्ने बताएका छन्। साउदी अरबमा अमेरिका र रुसबीच युद्ध अन्त्यका लागि वार्ता भएसँगै युक्रेनको आफ्नो मुख्य सहयोगी अमेरिकासँगको दूरी बढ्न थालेको हो।
हालै ट्रम्पले युक्रेनलाई युद्ध नै सुरु गर्न नहुने बताएका थिए। त्यसअघि उनले युक्रेनसँग सहयोगको बदला दुर्लभ खनिज पदार्थमा स्वामित्व माग गरेका थिए। लिथियम र टाइटानियमजस्ता बहुमूल्य खनिज ५० प्रतिशत युक्रेनले अमेरिकालाई दिनुपर्ने ट्रम्पको प्रस्ताव थियो।
जसलाई जेलेन्स्कीले अस्वीकार गरेका थिए।
‘म युक्रेनको रक्षा गरिरहेको छु। म बेच्न सक्दिनँ। म हाम्रो राज्य बेच्न सक्दिनँ,’ किभमा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने।
ट्रम्पले जेलेन्स्कीलाई मात्र ४ प्रतिशत जनताले समर्थन गरेको दाबी पनि गरेका थिए। तर, जेलेन्स्कीले त्यसको खण्डन गरे।
‘राष्ट्रपति डोनाल्ड ट्रम्पपति यथोचित सम्मानसहित भन्दा उहाँ दुष्प्रचारको घेरामा बसिरहनुभएको छ,’ जेलेन्स्कीले भने।
उनले युद्धमा हालसम्म ३२० अर्ब डलर खर्च भएको र त्यसमध्ये १२० युक्रेनकै रकम भएको दाबी गरेका छन्। बाँकी २०० अर्ब अमेरिका र ईयूबाट प्राप्त भएको उनको भनाइ छ।
अमेरिकाबाट ६७ अर्ब डलरको हतियार र बजेट सहायता प्राप्त गरेको पनि उनले बताए। एजेन्सी
Shares

प्रतिक्रिया