राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथलगत्तै अमेरिकी सिनेटले उनको विदेशमन्त्रीमा मार्को रुबियोलाई अनुमोदन गरेको छ।
शपथको केही घण्टापछि नै उनको अनुमोदनका विषयमा मतदान भएको थियो। जसमा दुवै पार्टीका सबै सिनेटरले मत दिएका थिए। अर्थात् उनले ९९ मत पाए।
रुबियोले २०११ देखि फ्लोरिडाको सिनेटरको रुपमा काम गरिरहेका थिए। विपक्षी डेमोक्र्याटिक पार्टीका सिनेटरहरूले पनि उनलाई योग्य भन्दै समर्थन गरेका हुन्।
ट्रम्पका आलोचक रहेका उनी केही वर्षयता उनका समर्थकमा बदलिएका छन्। २०१६ मा रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने प्रयास गरेका उनको ट्रम्पसँग तिक्त सम्बन्ध बनेको थियो।
त्यसयता सिनेटको इन्टेलिजेन्स कमिटीको नेतृत्वमा रहेर उनले अनुभव हासिल गरेका छन्।
संसदीय सुनुवाइका क्रममा उनले नेटोप्रति समर्थन जनाएका थिए। उनले चीन बलियो र खतरनाक शत्रु भएको भन्दै उसका विरुद्ध दृढ कदम चाल्नुपर्ने पनि बताएका थिए।
‘उनीहरू प्रविधिको क्षेत्रमा शत्रु र प्रतिस्पर्धी हुन्, औद्योगिक क्षेत्रमा प्रतिस्पर्धी हुन्, आर्थिक प्रतिस्पर्धी हुन्, भूराजनीतिक प्रतिस्पर्धी हुन्, अहिले विज्ञानको क्षेत्रमा पनि प्रतिस्पर्धी हुन्। हरेक क्षेत्रमा। यो असाधारण चुनौती हो र मलाई के लाग्छ भने यही प्रतिस्पर्धाले २१ औँ शताब्दीलाई परिभाषित गर्नेछ,’ रुबियोले भनेका थिए।
‘चीनलाई टक्कर दिन हामीले धेरैजसो काम यहीँ घरभित्रै गर्नुपर्ने छ। विदेशमा मात्र होइन, घरभित्र,’ उनले भने।
युक्रेन युद्धसम्बन्धी प्रश्नमा रुबियोले युक्रेनले रुसलाई ठेलेर २०२२ अघिको सीमामा पुर्याउन सक्छ भन्ने विश्वास गर्नु अवास्तविक हुने बताए।
पदमा बहाल भएको दोस्रो दिन नै रुबियोले क्वाड मुलुकका समकक्षीहरूलाई भेट्दै छन्। अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङ, जापानी विदेशमन्त्री इवाया ताकेसी र भारतका विदेशमन्त्री एस जयशंकरसँग उनले मंगलबार सामूहिक र अलगअलग भेट गर्नेछन्।
यी तीनैजना मन्त्री ट्रम्पको शपथमा सहभागी हुन वासिङ्टन पुगेका छन्।
यसलाई ट्रम्प प्रशासनले क्वाडलाई दिएको महत्त्वका रुपमा विश्लेषण गरिएको छ।
२००७ मा स्थापित क्वाड लामो समय गतिहीन थियो। ट्रम्पले पहिलो कार्यकालमा यो समूहलाई ब्युँताएका थिए। एजेन्सी
Shares

प्रतिक्रिया