ग्लोबल


गाजा युद्धविरामको जस लिन बाइडेन र ट्रम्पको हानथाप, केके छन् सर्त?

गाजा युद्धविरामको जस लिन बाइडेन र ट्रम्पको हानथाप, केके छन् सर्त?

नेपालखबर
माघ ३, २०८१ बिहिबार १६:४२,

‘यसको जस कसलाई दिन उचित हुन्छ राष्ट्रपति महोदय, तपाईंलाई कि डोनाल्ड ट्रम्पलाई?’

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा इजरायल र हमासबीच युद्धविराम सम्झौताको घोषणा गरेलगत्तै एउटा पत्रकारले सोधेको प्रश्न थियो यो।

बाइडेनले यसलाई आफ्नो विदेशनीतिको प्रमुख सफलताका रूपमा प्रस्तुत गरेका थिए। र, सम्झौतासँगै १५ महिनादेखि जारी रक्तपात रोकिने आशा जागेको छ। जसमा ४६ हजार प्यालेस्टिनी र १७ सय इजरायलीको ज्यान गएको छ।

तर, बाइडेन बहस गर्ने मनस्थितिमा थिएनन्। 

‘मजाक गर्नुभको?’ यति मात्रै भनेर उनी बाटो लागे।

हुन पनि बिहीबार युद्धविराम सम्झौताको घोषणा भएसँगै यसको जस लिन हानथाप भयो।

बाइडेनले यो युद्धविराम आफ्नो टिमले छलफल गरेर निष्कर्षमा पुर्‍याएको तर यसको मुख्य कार्यान्वयन भने आउँदो प्रशासनले गर्ने बताए।

बाइडेनले यही प्रस्ताव गत मे महिनामा आफूले गरेको पनि याद दिलाए। तर, उनका प्रस्तावलाई इजरायल र हमासले ट्रम्पको शपथको मुखमा मात्र स्वीकार गरे।

नभन्दै उनले जसमा दाबी गरिहाले।

नोभेम्बरमा आफूले नजितेको भए यो युद्धविराम नहुने उनको दाबी छ। ट्रम्पले युद्धविराम गर्ने भए तुरुन्त गर्ने चेतावनी दिँदै आएका थिए।

यसरी बिदा हुँदै गरेका आउँदै गरेका राष्ट्रपतिले जस दाबी गरिरहे पनि युद्धविराम आफैँ भने नाजुक स्थितिमा छ। सम्झौता लागू नहुँदै हमास र इजरायलबीच आरोपप्रत्यारोप सुरु भइसकेको छ। यसले शान्तिको सम्भावनामा शंका जगाएको छ।

सम्झौता घोषणापछि इजरायलले गाजामा ७३ जनाको ज्यान लिइसकेको हमासले बताएको छ।

केके छन् युद्धविरामका सर्त?
सर्तहरूको घोषणा भइसकेको छैन। तर, यो सम्झौता पूर्ण रूपमा लागू भए गाजामा युद्ध रोकिने छ र बन्धक र कैदीहरू छुट्ने छन्।

हमासले जम्मा २५१ जनालाई बन्धक बनाएको थियो। जसमध्ये ९४ जना अझै उसको कब्जामा छन्। तर, इजरायलका अनुसार करिब ६० जना मात्र जीवित छन्।

मध्यस्थकर्ता कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले युद्धविराम सम्झौता आइतबारदेखि लागू हुने बताएका छन्। तर, त्यसका लागि पहिले इजरायली सरकारले यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ।

सम्झौताको पहिलो चरण ६ हप्ताको हुनेछ, जसमा पूर्ण युद्धविराम गरिनेछ। यो अवधिमा हमासले ३३ बन्धकलाई छाड्ने छ र इजरायलले सयौँ कैदीलाई मुक्त गर्ने छ।

यो चरणमा इजरायली सेना गाजाको बस्ती क्षेत्रबाट पछि हट्ने छ। गाजाका २३ लाख मानिस सबै विस्थापित भएका छन्। सिंगो सहर भग्नावशेषमा परिणत भएको छ।

दोस्रो चरणमा युद्ध स्थायी रूपमा अन्त्य हुने बाइडेनले बताएका छन्। यसबेला बाँकी बन्धक र कैदी पनि छुट्ने छन्। समग्रमा इजरायलले एक हजार कैदी छाड्ने बतताइएको छ।

त्यसपछिको तेस्रो चरणमा गाजाको पुनर्निर्माण र बन्धकहरूको शव फिर्तीजस्ता कुरा छन्। 

तर, यी सर्तहरूलाई र समयसीमा हेर्दा शान्ति कायम गर्न निकै कठिन हुने अनुमान गर्न सकिन्छ। किनकि यसअघि पनि युद्धविरामका प्रयासहरू असफल हुँदै आएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad