चीनले ताइवानीहरूलाई आफ्नो समाजमा घुलमिल गराउन परिचय पत्र तथा बसोबासको अनुमति पत्र दिन थालेको छ। यसले ताइवानको भने चिन्ता बढाएको छ।
घुम्न आएका ताइवानीहरूले चीनमा ‘तीन कागजात’ भनिने रेजिडेन्ट कार्ड, ब्यांक खाता र स्थानीय फोन नम्बरका लागि आवेदन दिने गरेका छन्। यी तीन प्रकारका कागजातपछि थुप्रैलाई नागरिकलाई मात्र दिइने स्थानीय परिचय पत्र पनि दिलाउन चीन सरकार केन्द्रित भएको ताइवानी अधिकारीहरूको आरोप छ।
‘हामीलाई चिन्ता छ, जब धेरैभन्दा धेरै ताइवानीसँग चिनियाँ नागरिकता हुन्छ, तब यसले हाम्रो क्षेत्राधिकारमा सम्झौता गर्छ,’ एक ताइवानी अधिकारीको भनाइ फाइनान्सियल टाइम्सले उधृत गरेको छ, ‘यदि चिनियाँ परिचय पत्र बोकेका ताइवानी यहाँ कुनै घटनामा संलग्न भए भने चिनियाँहरूले त्यो व्यक्ति आफ्नो नागरिक भएको भन्दै हाम्रो घरेलु मामिलामा हस्तक्षेप गर्न सक्छन्।’
चीनले पछिल्लो समय ताइवानविरुद्ध बहुआयामिक दबाब बढाइरहेको छ। ताइवानसँग पुनर्एकीकरणको लक्ष्य राखेको चीनले त्यसको विरोध भए बल प्रयोग गरेर भए पनि चीनमा मिसाउने बताउँदै आएको छ।
पछिल्लो समय एक डकुमेन्ट्रीका कारण यो मुद्दा चर्चामा आएको हो। डिसेम्बरको अन्त्यतिर सार्वजनिक डकुमेन्ट्रीका अनुसार लाखौँ मानिसले चिनियाँ परिचय पत्र लिइसकेका छन्।
चिनियाँ सरकारको समर्थन पाएको एक स्टार्टअपका प्रमुख रहेका ताइवानी नागरिक लिन चिन चेङले डकुमेन्ट्रीमा भनेका छन्– करिब २ लाख ताइवानीहरूले चिनियाँ परिचय पत्र लिएका छन्।
सो दाबीको स्वतन्त्र पुष्टि भएको छैन। तर, ताइवानबाट घुम्न जानेहरूलाई आजभोलि चीनमा ‘तीन कागजात’को फाराम भराइने ताइवानी अधिकारी तथा पर्यटकहरूको भनाइ छ।
तीन कागजातअन्तर्गतको रेजिडेन्ट कार्ड चिनियाँ नागरिकता बराबरी होइन। तर, त्यो नागरिकता दिने अभियानको सुरुवात हुनसक्ने ताइवानको चिन्ता छ।
‘त्यसपछिको कदम भनेको स्थानीय परिचय पत्र हो। अथवा रेजिडेन्ट कार्डको सट्टा सिधै स्थानीय परिचय पत्र पनि दिइन्छ,’ ताइवानी राष्ट्रिय सुरक्षा अधिकारीले भने।
ताइवानको कानुन अनुसार चिनियाँ परिचय पत्र लिने नागरिकको परिवार दर्ता रद्द गरिन्छ। तर, चीनसँग सम्पूर्णरुपले सम्बन्ध विच्छेद भएकाले ती ताइवानीहरूले चीनमा गर्ने गतिविधिबारे ताइवानी सरकारलाई सूचना प्राप्त हुँदैन।
२०२३ मा २ लाख १७ हजार ताइवानी चीनमा काम गरिरहेका थिए। त्यो भनेको एक दशकअघिको तुलनामा आधा मात्र हो। तर, २०२२ को तुलनामा २२ प्रतिशत बढी हो।
ताइवानी राष्ट्रपति लाइ चिङ तेले जनतालाई तत्कालीन फाइदाका लागि चिनियाँ परिचय पत्र नलिन आग्रह गरेका छन्।
‘ताइवानमा एउटा उखान छ : सित्तैँमा पाएको चिज पछि महँगो ठहरिन पुग्छ। त्यो एकदम सही हो,’ नयाँ वर्षको सम्बोधनमा लाइले भने। एजेन्सी
Shares

प्रतिक्रिया