अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्वमा हाँसोको पात्र बनेको बताएका छन्।
उनले यसको कारण सीमा नीति र कमजोर नेतृत्व भएको टिप्पणी गरे।
ट्रम्पले एक्समा राष्ट्रपति जो बाइडेनलाई ‘अमेरिकी इतिहासको सबैभन्दा खराब राष्ट्रपति‘ भनी लेखेका छन्।
उनले लेखेका छन्, ‘बाइडेनको खुला सीमा नीतिबारे मैले मेरो र्याली र अन्य ठाउँमा धेरै पटक भनेको थिएँ- अमेरिकामा यति धेरै कट्टरपन्थी इस्लामिक आतंकवाद र हिंसात्मक अपराध हुनेछन् कि विश्वास गर्न गाह्रो हुनेछ। अहिले त्यो समय आएको छ, कल्पना गरेभन्दा नराम्रो अवस्था देखिएको छ।’
नयाँ वर्षका दिन अमेरिकामा भएका दुई ठूला घटनापछि ट्रम्पको यस्तो टिप्पणी आएको हो।
बुधबार लुइसियाना राज्यको न्यु अर्लिन्समा एक व्यक्तिले जानाजानी भीडमा ट्रक कुदाउँदा १५ जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका छन्।
यसको केही घण्टापछि अमेरिकाको लस भेगासस्थित ट्रम्प होटलबाहिर टेस्ला साइबरट्रकमा विस्फोट गराइएको थियो। जसमा परी चालकको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
डोनाल्ड ट्रम्पले यही जनवरी २० तारिखमा अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन्।
Shares

प्रतिक्रिया